RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१४ गते
४३५ पटक

भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।

क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्रलगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

असार २ गते स्वाब संकलन गरी पठाइएको भए पनि हालसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिएको उहाँले बताउनुभयो ।

यसका साथै क्वारेन्टाइमा बसेका नागरिकको आत्मबल तथा हौसला बढाउन हालसम्म पनि कुनै जनप्रतिनिधि नआएको उद्धव चन्दको गुनासो रहेको छ ।

उता सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने प्रदेशमा एउटा मात्रै परीक्षण गर्ने मेसिन भएकाले रिपोर्ट आउन ढिलाइ भएको बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल र हौसला बढाउन आफूहरु क्वारेन्टाइनमा पुग्ने विष्टको भनाइ छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमध्ये २६ जनाको मात्रै स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्ने कार्य पनि बाँकी रहेको छ      www.newsofnepal.com

प्रतिकृया दिनुहोस्