RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१४ गते
५९४ पटक

बुटवल, असार १४ गते । नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए ।
प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भयो ।
भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।

बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताउनुभयो ।
यस्तै आकस्मिक निर्णय बुुटवल उपमहानगर पालिकाले पनि गरेको छ । प्रमुख शिवराज सुवेदीका अनुसार सलह नियन्त्रणमा प्रोत्साहन गर्न जम्मा गरेर बुझाउनेलाई पुरस्कृत गरिनेछ । सलह कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा पुगेको गोरखापत्रका स्थानीय समाचारदाताले जनाएका छन् । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्