RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२४ गते
६६४ पटक

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको हिजो मंगलबारको भेटमा बादलले अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा पार्टी एकताको भावना र मर्मविपरीत हुने र त्यसो भए प्रतिक्रान्ति हुने धारणा राखेको प्रमुख सचेतक भट्टराईले बताए ।

‘अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्नु भनेको प्रतिक्रान्तिलाई निम्त्याउनु हो, अहिले सरकार गिराउनुहुँदैन । पार्टी नेतृत्व पनि परिवर्तन गर्नुहुँदैन,’ भेटमा गृहमन्त्री बादलको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।

बादलले पार्टीभित्र गम्भीर आन्तरिक समस्या रहेकाले यसको समाधान भनेको गत २० वैशाखमा सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नु नै रहेको बताए । उनले कसैलाई निषेध गरेर समस्या समाधान नहुने दाबी गरे ।

चिनियाँ राजदूत यान्छीको दौडधुप

सत्तारूढ नेकपामा पछिल्लो समय बढ्दै गएको विवादका बीच नेपालस्थित चिनियाँ राजदूतको दौडधुप बढेको छ । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनिया राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।

खनाल निवास डल्लुमा मंगलबार उनीहरूको भेटघाट भएको हो । यसअघि राजदूत यान्छीले नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार उनकै निवास कोटेश्वर पुगेर भेटेकी थिइन् ।

नेकपामा विवाद बढ्दै गएका बेला राजदूत यान्छीको भेटघाटलाई चासोका रूपमा हेरिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि विवाद भइरहेको छ । यसअघि वैशाखमा समेत ओलीको राजीनामा माग उठेपछि चिनियाँ राजदूतले नेकपाका शीर्ष नेतालाई भेटेकी थिइन् । तत्पश्चात राजीनामा मुद्दा साम्य भएको थियो ।राजधानी दैनिक

प्रतिकृया दिनुहोस्