RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२७ गते
११३० पटक

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन्। सडक माथिबाट ठुलाठुला चट्टान सडकमा खसेकोले पन्छाउन सकस भइरहेको ट्राफिक प्रहरी दिलानन्द भट्टले जानकारी दिए। उनका अनुसार ठुलो जेसिभीले मात्र सडकको पहिरो पन्छाउन सकिने अवस्था छ।

सडक डिभिजन कार्यालयको जेसिभी सिँजा खण्डमा भएकोले तत्कालका लागि पहिरो पन्छाउन मान्छे परिचालन गरिएको छ। एकाविहानै पहिरो गएकोले सडकमा सवारीसाधन गुड्न सकेका छैनन्। पहिरो पन्छाउनको लागि सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेको छ। तर मेसिन नहुँदा पहिरो पन्छाउन समय लाग्ने देखिन्छ।

माथिबाट खसेको ढुंगाले सडक भाँस्सिएको छ। शुक्रवार देखिे ढुंगा खस्दै आएकोमा विहान मात्र ठुलो पहिरो खसेको स्थानीय बताउँछन्। रारालिही प्रहरीचौकी इन्चार्ज कृष्णबहादुर खड्का सडक खुलाउनको लागि पहल भइरहेको बताउँछन्। उनले भने,‘पहिरो निकै ठुलो भएकोले मानिस लगाएर पहिरो पन्छाउन सकिने अवस्था छैन्।जेसिभी नआउँदा सम्म सडक खुल्ला जस्तो देखिदैन्। सडक डिभिजन कार्यालयको जेसिभी आउने कुरा छ। ’

निरन्तर बर्षा भइरहेको खण्डमा अझै पहिरो आउन सक्ने स्थानीय बताउँछन्। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा सडक डिभिजन कार्यालयका प्रमुख नै पहिरो पन्छाउन खटिएको बताउँछन्। सडक डिभिजन कार्यालयका अनुुसार दुइवटा डोजर  आउँदैछन्। डेढ घण्टा भित्र सडक खुल्न सक्छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल पहिरो पन्छाएर सडक सुचारु गर्न निर्देशन दिएको छ।

स्थानीय प्रशासन कार्यालयले शनिवार देखि विहान ६ देखि दिउँसो ४ बजे सम्म जोर बिजोर गरेर सवारी सञ्चालन गर्ने भनिरहेको बेला सडकमा पहिरो गएकोले मर्का भएको यातायात व्यवसायी बताउँछन्। उनीहरुले तत्काल सडक खुलाएर निर्वाध रुपमा सवारी चल्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्