RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२९ गते
४७९ पटक

काठमाडौँ ।  सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर नेपाली भूमि डुवानमा परेको बताए ।

गृहमन्त्री थापाले पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो ।

‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो’ उनले भने, ‘सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।

भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाको भनाइ थियो । ‘नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्छ’, गृहमन्त्री थापाले भने ।

समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस्