RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/९ गते
७५९ पटक

नेपाल टेलिकमले आफ्ना सिमकार्डको अवधिबारे थप प्रष्ट पारेको छ । प्रयोग गरिरहेको सिम बन्द भई अन्य व्यक्तिलाई समेत प्रदान गर्न थालिएको र यसमा सर्वसाधारणले प्रश्न उठाएपछि कम्पनीले सिमकार्डको अवधिबारे थप प्रष्ट पारेको हो । टेलिकमले प्रिपेड र पोस्टपेड सिममा छुट्टाछुट्टै ब्यबस्था रहेकोले त्यसबारे जानकार हुन टेलिकमले ग्राहकलाई आग्रह गरेको हो ।

प्रिपेड सिमकार्ड

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु अर्थात् सिम एक्टिभ गर्न १४१५ मा डायल गरी वा *1414#  मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम एक्टिभ गरेपश्चात् सो अवधिसम्म रिचार्ज नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा ५० रिचार्ज गर्दा ३० दिन, १०० रिचार्ज गर्दा ६० दिन, ५०० रिचार्ज  गर्दा  एक वर्ष र १००० रिचार्ज गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड रिचार्ज  गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्छ । फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र रिचार्ज गरिएमा रिचार्ज  गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ रिचार्ज गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

पोस्टपेड सिमकार्ड

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (due amount) उक्त मोबाइलको credit limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।

नब्बे दिनसम्म पनि due amount भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन÷इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द हुन्छ ।

ग्राहकको सिम  बन्द अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र  ५६० Reconnectin Fee  भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम बन्दभएको  १८० दिन पश्चात कम्पनीले सिम रिसाइकल गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री÷वितरण गर्न सक्दछ ।

टेलिकमले विदेशबाट नै सिम रिचार्ज गर्न सकिने पनि जनाएको छ । टेलिकमले अनलाइन बैंकिंग , भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै रिचार्ज गर्न सकिने जनाएको हो । यसरी रिचार्ज गरेपछि सिमकार्डको अवधि थप हुने र स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने टेलिकमलेजनाएको छ ।

प्रतिकृया दिनुहोस्