RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
९५० पटक

काठमाडौं :  सरकारले कोरोना भाइरसको संक्रमणमा परेको चीनको उहान क्षेत्रमा रहेका नेपालीलाई आवश्यकता अनुसार उद्दार गर्ने भएको छ। हाल उहान क्षेत्रमा एक सय ९० नेपाली विद्यार्थी रहेका छन्। चीनस्थित नेपाली दुतावासमा सम्पर्कमा आएका उनीहरुबारे चिन्तित रहेको सरकारले जनाएको छ।

यो भन्दा अप्ठ्यारो परिस्थिति आएमा उनीहरुलाई उद्धार गरिने सरकारले जनाएको छ।  तर उनीहरुलाई ल्याएमा राख्‍ने ठाउँबारेमा छफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्लायका प्रवक्ता महेन्द्र श्रेष्ठले उहान क्षेत्रका नेपालीलाई उद्धार गरेर ल्याएपछि सेनाको ब्यारेक जस्तै ठाउँ या अन्य सुरक्षित स्थानमा १५ दिन छुट्टै राख्ने तयारी भएको बताए।

‘उहान प्रान्तको धेरै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ। त्यहाँका १९० नेपाली सम्पर्कमा आउनुभएको छ’, उनले भने,’आवश्यक परे उहाँहरुलाई उद्धार गर्छौँ। अहिले यहाँ ल्याएर राख्‍ने ठाउँबारेमा सरकारले गृहकार्य गरिरहेको छ।’

यस्तै शुक्रबारदेखि चीनको स्थल नाका जोडिएको रसुवागढी र तातोपानीमा हेल्थ डेक्स राखिने प्रवक्ता श्रेष्ठले बताए। मन्त्रालयले डा. अमृत पोखरेल र डा गुणनीधि शर्मालाई २ नाकामा शंकास्पद विरामीको उपचार गर्न पठाउने भएको छ।

कोरोना भाइरस संक्रमण जाँचका लागि चीनतर्फको तातोपानी र रसुवा नाकामा स्वास्थ्य टोली राख्‍ने तयारी भइसकेको उनले बताए। राजधानीमा कोरोना संक्रमितको उपचारका लागि पाँचवटा ‘हब’ अस्पताल र ती अस्पताल मातहतमा १४ वटा ‘स्याटेलाइट’ अस्पतालको तयारी गरिएको उनले बताए। जनचेतना अभिवृद्धिका पर्चा पम्प्लेट तयार पारेको दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्