RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/११ गते
१२९० पटक

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले जारी गरेको विषेश मौसमी बुलेटिन अनुसार मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागले पूर्वानुमान गरेको छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘नेपालको तराई भू-भाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार (साउन १२) रातीबाट ३/४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ।’

विभागले नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने समेत अनुमान गरेको छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले सबैमा अपिल समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्