RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१३ गते
५६३ पटक

साउन १३ गते । भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।
त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

सबैभन्दा बढी यूएईबाट
विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।

यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।

त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।

फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । जसअनुसार बाग्मती प्रदेशका नौ हजार ६२६ जना, प्रदेश १ का सात हजार २७५ जना, प्रदेश २ का पाँच हजार ८९९ जना, गण्डकी प्रदेशका चार हजार ४४८ जना, प्रदेश ५ का पाँच हजार ८६९ जना, कर्णाली प्रदेशका ८१० जना र सुदूरपश्चिम प्रदेशका ८९६ जना रहेका छन् ।

फर्केका मध्ये २६ हजार २८९ जना आफ्नो प्रदेश पुगेर नजिकको क्वारेन्टाइनमा बसी घर फर्केका छन् । अझै पनि होटेल क्वारेन्टाइनमा एक हजार १५५ जना, होम क्वारेन्टाइनमा तीन हजार ७५५ जना र स्थानीय क्वारेन्टाइनमा तीन हजार ६५७ जना नेपालीले स्वास्थ्य लाभ गरिरहेको समितिले जनाएको छ ।

यसै अवधिमा २२१ जनाभन्दा बढीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । शव ल्याएका मध्ये सबैभन्दा बढी मलेसियाबाट ७२ जनाको रहेको छ । साउदी अरेबियाबाट ७०, कतारबाट ४८, कम्बोडियाबाट ३३, यूएईबाट १३, कुवेतबाट आठ, बहराइनबाट सात, ओमान, माल्दिभ्स र हङ्कङबाट एक–एक जनाको शव ल्याइएको छ । विदेशबाट अझै ९४ जनाको शव ल्याउन बाँकी छ ।  गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्