RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१४ गते
१३८९ पटक

कैलाली, १४ साउन । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताए । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् ।

घरमा पानी पसेपछि घरमा रहेको अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन । भजनीले जोखिमबाट बच्न पूर्वतयारी स्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस्