RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१५ गते
६०१ पटक

साउन १५ गते । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं. १०, मटिअर्वा टोलका रामायाण पडितले बताउनुभयो ।
यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैया–वीरगञ्ज औद्योगिक कोरिडोर कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।
अवैध रुपमा भारतबाट नेपाल कामदार भित्र्याउने काममा उद्योगी व्यवसायी पनि लागेको स्थानीयहरु बताउँछन् ।
पर्सामा ३४ जनामा सङ्क्रमित
वीरगञ्ज समाचारदाताका अनुसार पर्सा जिल्लामा ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले २७४ जनाको स्वाब परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।
नयाँ फेला परेका सङ्क्रमितहरुमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना र स्वास्थ्यकर्मी एक जना छन् । यसैगरी, पाँच जना बालबालिका र १० जना महिलामा पनि सङ्क्रमण फेला परेको छ । नयाँ फेला परेको सबै सर्वसाधारण वीरगञ्ज महानगरपालिकाका हुन् ।
पर्सामा एक जनाको मृत्यु
गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज ५ रेशमकोठीका ६८ वर्षीय सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी कोभिड विशेष अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले पुष्टि गर्नुभयो ।
उपचारका क्रममा मृत्यु भएका सङ्क्रमित मुटुरोगी रहेको र पछिल्लो पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालको आईसीयूमा भर्ना हुनुभएको थियो । नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालको आईसीयूमा उपचाररत अझै चार जनाको अवस्था गम्भीर रहेको उपचारमा खटिएका चिकित्सक डा. निरजकुमार सिंहले बताउनुभयो ।
पर्साका हालसम्म सङ्क्रमितको सख्या ३०७ पुगेको र ६१ जनाको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचार भइरहेको छ । पर्सामा हालसम्म एक भारतीय सहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
नेपाली सेना र शिक्षक पनि सङ्क्रमित
महोत्तरी समाचारदाताका अनुसार स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकल पर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लोपटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमण पाइएको जानकारी दिनुभयो ।
सङ्क्रमितहरुमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका १० जना नेपाली सेना, दुई शिक्षक, एक जना सर्वसाधारण रहेका छन् । योसहित अहिलेसम्म महोत्तरी जिल्लामा ८५९ जनामा कोरोना पोजेटिभ देखिएका छ ।
तीन जना कर्मचारी सङ्क्रमित
जनकपुर समाचारदाताका अनुसार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय झाका अनुसार मन्त्रालयका स्टोर किपर, सवारी चालक र कार्यालय सहयोगीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका २२ जना कर्मचारीको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो । तीमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको उपनिर्देशक झाले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट….

प्रतिकृया दिनुहोस्