RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१६ गते
१३२२ पटक

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पुर्वी तराईका भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सिन्धुली जिल्लास्थित वर्षामापन केन्द्रमा आज विहान ५ः३० बजे मापन गरिए अनुसार सिन्धुलीमाडी र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

त्यस क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेको छ । त्यस्तै आज विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार कास्कीको पोखरामा पछिल्लो ३ घण्टा भारी बर्षा भएको छ ।

साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको छ । त्यसैगरी आज विहान ३ः३० बजे मापन गरिएको रेकर्ड अनुसार गोरखाको बारपाक र यस आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

दरौंंदी नदीको तटीय क्षेत्र र सो क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्