RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२० गते
५९८ पटक

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।

त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् ।

सिएमसीका एक सदस्यका अनुसार सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।
‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले भने

सरकारले यसअघि निजी सवारीमा मात्रै जोर बिजोर लागु गरेको थियो । सिसिएमसी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले समेत सिसिएमसीमा जोर बिजोरको प्रस्ताव गरेको छ ।

सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएको छ ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले संक्रमणको विस्तारपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा स्वास्थ्य विज्ञसँग समेत मंगलबार नै छलफल गर्नेछन् । सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले राजधानी बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आइरहेका छन् ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्