RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२४ गते
१११४ पटक

सरकारले १ भदौ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेर तयारी थालेपनि कोरोना संक्रमण फैलिँदै गएपछि अन्योल थपिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उडान खोल्ने–नखोल्ने विषयको अधिकार पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उच्चस्तरीय समिति सिसिएमसीलाई दिएको छ । तर, समितिले हालसम्म कुनै निर्णय गरेको छैन । ‘हामी थोरै भए पनि उडान खोल्नुपर्छ भन्ने पक्षमा हौँ, सेड्युल तयार पारेर समितिमा पठाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव केदारबहादुर अधिकारीले भने । १ भदौबाट खोल्ने वा केही दिन पर धकेल्ने अधिकार समितिलाई रहेकाले शनिबारको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।

सरकारले गत ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि आन्तरिक उडान बन्द गरेको छ । पटक–पटक गरी उडान बन्दलाई थप गर्दै १ भदौसम्म पु¥याएको छ । अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानको तयारीसमेत विमानस्थल र एयरलाइन्स कम्पनीहरूले तीव्र पारेका छन् । अन्तर्राष्ट्रियतर्फ १ सय ८६ उडानका लागि एयरलाइन्स कम्पनीहरूले माग गरेका छन् । तर, अहिलेसम्म कुन एयरलाइन्सलाई कति उडान गर्न दिने टुंगो लागेको छैन ।

अन्तर्राष्ट्रिय १३ एयरलाइन्सले सातामा १ सय ८६ उडानको माग
नेपाल नागरिक उड्डयन प्राधिकरणसँग १ भदौबाट उडान गर्नका लागि भन्दै १३ एयरलाइन्सले सोमबारसम्म १ सय ८६ उडानको अनुमति माग गरेका छन् । एयरलाइन्सहरूले सातामा १ सय ८६ उडानका लागि आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडानका लागि सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले सातामा ५७ उडानका लागि आवेदन दिएको छ ।

जसमा निगमले दिल्लीमा दैनिक २ सहित सातामा १४, बैंग्लोर ३, मुम्बई ७, ग्वान्जाओ ३, कुवेत ७, दोहा ७, क्वालालाम्पुर ७, नारित ३, बैंकक ३ र हङकङ ३ गरी ५७ उडानको अनुमति माग गरेको छ । त्यसैगरी, हिमालयले सातामा २१ र कतार एयरवेजले सातामा २८ उडानका लागि माग गरेको छ । त्यस्तै, टर्किसले सातामा १ मात्रै उडानका लागि आवेदन माग गरेको छ । सलाम एयरले ७, इन्डिगोले ७, चाइना साउदनले १, एयर चाइनाले १, जजिरा एयरले २, फ्लाई दुबईले ७, मलेसियन एयरलाइन्सले ५, मालिन्दो एयरले १४ र एयर अरेबियाले ३५ वटा माग गरेको छ ।

आन्तरिकतर्फ ४८ उडान स्वीकृत गरेको जनाएको छ । विगतमा २ सयभन्दा बढी आन्तरिक उडान हुने गरेमा अहिले ४८ वटा मात्रै दिन लागिएको हो । बन्द भएको झन्डै पाँच महिनापछि प्राधिकरणले १ भदौदेखि उडान खुलाउने निर्णय गरेको थियो । सोहीअनुसार आन्तरिकतर्फका एयरलाइन्सहरू उडानको तयारीमा जुटेका छन् । नियमन निकाय प्राधिकरणले सुगम क्षेत्र अर्थात् ट्रंक रुटमा ३९ उडान स्वीकृत गरेको छ भने दुर्गम क्षेत्र स्टल क्षेत्रमा ९ वटा उडान पहिलो चरणमा हुने भएको छ । प्राधिकरणले एक सातापछि पुनः उडानहरू थप्दै जाने योजना बनाएको छ । निजी वायुसेवा कम्पनीहरू ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सिम्रिक एयरले २ वटा उडान गर्ने तय गरेका छन् । यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३–३ वटा उडानको अनुमति पाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्