RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२४ गते
५०० पटक

काठमाडौँ, साउन २४ गते । बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थालेको छ । वर्षाको भेलमा फोहोरका पोका हुत्याउनेले नदी फोहोर गर्नेक्रम बढेको छ । फोहोर फाल्ने मोटरसाइकल चढेरै अरूको आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् ।
बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर योगेन्द्र चित्रकार सफाइ निरन्तर भइरहे पनि फोहोर हुत्याउने कार्य यो अभियानका लागि अझै चुनौतीपूर्ण छ भन्नुहुन्छ । बाग्मती सफाइ अभियान ३७७औँ हप्ता पुगेको छ ।
इन्जिनियर चित्रकार भन्नुहुन्छ, फोहोर फाल्नेलाई कारबाही गर्ने अधिकार समितिलाई छैन । स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले मात्र कारबाही गर्नसक्छ, यी निकायको सहयोग बिना फोहोर नदीमा हुत्याउनेलाई रोक्न सकिएको छैन ।
समितिकी कार्यकारिणी सदस्य माला खरेलका अनुसार, सुन्दरीजलदेखि टेकु दोभानसम्म अहिले पनि अभियन्ताले नदी सफाइ गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीको समयमाबाहेक बन्दाबन्दी खुला भएयता निरन्तर नदी सफाइ भइरहेको छ ।
ठूलो सङ्ख्यामा अभियन्ताको सहभागी भने अहिले छैन । काठमाडौँ महानगरपालिका ७ का सदस्य कृष्णमणि भट्टराई नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । बिहानपख मोटरसाइकलमा झुन्ड्याएर नदीमा फोहोर हुत्याउने निकै रहेको गुनासो वडा कार्यालयमा आएको भट्टराई बताउनुहुन्छ । बागबजारको टुकुचा, त्रिपुरेश्वरको टुकुचा निकास, रुद्रमतीको चाबहिल क्षेत्र, रातोपुुल क्षेत्रमा फोहोर नदीमा खसाल्ने प्रवृत्ति छ ।
सदस्य माला खरेलले पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ नदीमा फोहोर खसाल्नेलाई पक्रने व्यवस्था हुनसके नदी सफाइ अभियानले छिटै नै पूर्णता पाउने बताउनुहुुन्छ । काठमाडौँ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले यस्तो क्रियाकलाप गर्नेको मोबाइलबाट फोटो खिचेर महानगरपालिकालाई उपलब्ध गराए कारबाही गरिने बताउनुुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्