RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२८ गते
२७६ पटक

सरकारले काठ संकलनमा रोक लगाएसँगै वर्षातको समयमा कतै काठ जंगलमा नै सडेर जाने त कतै बाढीले बगाउने समस्या देखिन थालेपछि काठ व्यवसायीहरू चिन्तित बनेका छन् । राजस्व बुझाएर पनि काठ उठाउन नपाउँदा सडेर जाने, बाढीले बगाउने जस्ता समस्या बढ्न थालेपछि नोक्सानी खेपिरहेका व्यवसायीहरू सरकारप्रति आक्रोश पनि देखिएका छन् ।

बजारमा काठको माग बढिरहेको तर सरकारसँग किनिसकेको काठ पनि जंगलबाट उठाउन नपाउँदा यसको क्षतिपूर्ति कसले बेहोर्ने भन्ने प्रश्न उठेको छ । सरकारलाई पटकपटक व्यवसायीहरूले तत्काल काठ संकलन र बिक्री वितरण गर्न माग गर्दै आए पनि सरकारले व्यवस्था नगर्दा करोडौंको काठ सडिरहेको भन्दै व्यवसायीहरू चिन्तित देखिएका हुन् ।

१५ जेठको मन्त्रिपरिषद बैठकले वन क्षेत्रमा काठ कटान, संकलन, ढुवानी र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । २८ जेठको मन्त्रिपरिषद् बैठकले साल प्राजति बाहेक अन्य प्रजातिका काठको ढुवानी, संकलन र बिक्री वितरण खुला गर्ने निर्णय गरेको थियो । साल प्रजातिको काठ निजी आवादीको पनि साल कटान, बिक्री र ओसारपसारमा प्रतिबन्ध कायम छ ।

सालको काठमा प्रतिबन्ध लगाएसँगै फेरि काठ व्यवसायीहरूले भने बजारमा सालको काठको माग बढी रहेको तर साल प्रजातिमा प्रतिबन्ध लगाएसँगै वन उद्यममा लगाइएको अर्बौंको निजी लगानी जोखिममा रहने विरोध जनाउँदै आएका छन् । अहिले जंगलमा काठ असुरक्षित बन्दै गएको भन्दै व्यवसायीहरूको आपत्ति छ ।

केही साताअघि कारोबारले विभिन्न जिल्लाका डिभिजन वन अधिकृत, काठ व्यवसायीहरू, सामुादायिक वनका उपभोक्ताहरूसँग पनि टेलिफोनमार्फत संकलन गरेको सूचना तथा फोटो र भिडियोअनुसार यतिबेला तराईका नदीमा आएको बाढीसँगै कतै काठ बगाउने त कतै काठको गुणस्तर खस्कँदै गएको प्रमाणहरू पाइएको छ ।

कटान भइसकेका काठ पनि संकलन गर्न प्रतिबन्ध लगाएसँगै जंगलभित्रका काठहरू निरन्तरको वर्षासँगै आउने बाढीले बगाउने, पहिरोले पुर्ने, खडेरी पर्दा आगलागी हुँदा काठ जल्ने, चोरी तस्करी हुने, सुरक्षामा चुनौती, वर्षाका कारण काठ जंगलमै सड्ने लगायतका समस्याहरू देखिएका छन् ।

यसले गर्दा यस बर्ष काठबाट प्राप्त वित्तीय मुनाफा नहुने व्यवसायीहरूको भनाई छ । उनीहरूका अनुसार राजस्व तिरेर पनि काठ जंगलबाट उठाउन नपाउने कच्चा पदार्थको अभाव भई काठ जन्य उद्योगको अर्बौ लगानी जोखिममा परेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्