RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३१ गते
५४९ पटक

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।

यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ । यस्तै परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले संक्रमणको जोखिम कम गराउँने सन्दर्भमा आदेश जारी गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा निषेधित गतिविधि गर्न नपाइने बताए । उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सावधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्