RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३२ गते
४८७ पटक

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ । शनिबारसम्म डिआइजीसहित पाँच सय ५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरी डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए ।

संक्रमित हुने प्रहरीमा एक नायब महानिरीक्षक (डिआइजी) पनि छन् । प्रहरी अस्पताल महाराजगन्जमा चिकित्सकका रूपमा कार्यरत डिआइजीमा संक्रमण देखिएको हो । त्यस्तै, स्याङ्जा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङ्जाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ ४० प्रहरी कार्यरत छन् । सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ।

सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल– २ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ अहिले १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भए पनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्