RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३२ गते
५१३ पटक

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार ठूलो पहिरो खस्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो। अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए। तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन्। २ सय ३५ बस्ती अझै जोखिममै छन्।

प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन्। कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन्। प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ परिवार जोखिमपूर्ण स्थानमै बसिरहेको देखाउँछ। ४ सय ७८ परिवारले जोखिमपूर्ण बस्तीमा घर बनाएका छन्।

भूकम्पपछि प्राधिकरणले १ हजार १ सय ३ बस्तीको भौगर्भिक अध्ययन गरेको थियो। तीमध्ये आंशिक जोखिमयुक्त (संरक्षण गर्नुपर्ने)मा ३ सय २७ थियो। सिन्धुपाल्चोकको लिदी त्यही वर्गमा पथ्र्यो। ४ सय ८६ बस्ती सुरक्षित स्थानमा पाइएको थियो। अति जोखिममा रहेका २ सय ९० बस्तीका ४ हजार ६ सय ८९ परिवारलाई सार्नुपर्ने प्रतिवेदनले देखाएको थियो।

जग्गा खरिद गरी ४ हजार १ सय ७६ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ। जसमा २ हजार ४ सय ६९ परिवारलाई जग्गा खरिद गर्न २ लाखका दरले अनुदान दिइएको छ। ६ सय २९ परिवारलाई जग्गा उपलब्ध गराइएको छ।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्