RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/४ गते
५४५ पटक

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् ।

‘निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन पाउँदैनन्, बिनाकाम निस्किएको पाइए कानुनअनुसार कारबाही हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरू सेवाहरू बन्द हुनेछन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधिजन्य सेवा बाहेक अरू सञ्चालन गर्न पाइनेछैन । यस्तै तोकिएकाबाहेकका व्यपार व्यवसाय बन्द हुनेछन् ।

यसैगरी, अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउनेछैनन् । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न पाउनेछैनन् । ती सवारी साधनलाई भने उपत्यका भित्र चल्न समेत बन्देज छैन ।

तर सबै प्रकारका यात्रुवाहक सवारी साधन बन्द हुनेछन् भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड हुन र सभाजुलुस गर्न पाइनेछैन ।

तर हवाई उडानबाट विदेश जानेहरूका हकमा पासपोर्ट भिसा, कन्फर्म हवाई टिकट हुनेहरू सहजीकरण गरेर विमानस्थल जान सक्नेछन् । यस समयमा अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेउपर कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

सञ्चालन हुने क्षेत्र
अत्यावश्यक वस्तु तथा सेवाअन्तर्गत औषधि पसल तथा औषधि ढुवानी गर्ने साधन, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, स्वास्थ्य तथा सुरक्षा क्षेत्र, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधन

प्रतिकृया दिनुहोस्