RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/५ गते
१०९७ पटक

केही निजी विद्यालयको विरोधका बाबजुद यस वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषयको नयाँ पाठ्यक्रम र पुस्तक तयार पारेर भर्नाको आधार पनि निर्धारण गरेको छ ।

सरकारको अर्को निर्णय नआए १५ भदौपछि भर्ना सुरु हुनेछ । केन्द्रका महानिर्देशक केशव दाहालका अनुसार विद्यार्थी संख्या निकै कम हुने तथा पाठ्यक्रम र पुस्तक तयार नभएका विषयमा पुरानै मापदण्ड लागू हुनेछ । हालसम्म कक्षा ११ मा ७५ विषयको नयाँ पाठ्यक्रम स्वीकृत भइसकेको छ । र, सोहीअनुसार शैक्षिक सत्र ०७७ का लागि पुस्तकसमेत तयार भएका छन् ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार तीन विषय अनिवार्य र कम्तीमा तीन ऐच्छिक विषय पढ्नुपर्नेछ । विद्यार्थी कम हुने विषयबाहेक सबैको पाठ्यक्रम परिवर्तन भएको महानिर्देशक दाहालले जानकारी दिए । ‘सबै तयारी पूरा भइसकेको छ,’ दाहालले भने । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले २२ साउनमा नयाँ पाठ्यक्रमअनुुसार तीन समूहमा भर्नाका आधार निर्धारण गरेको थियो । एसइईको नतिजा आएपछि मंगलबार केन्द्रले उक्त आधार सार्वजनिक गरेको हो । साधारण, प्राविधिक र व्यावसायिक तथा परम्परागत शिक्षाका छुट्टाछुट्टै समूह निर्धारण गरिएको छ ।

कक्षा ११ को पाठ्यक्रम २७ वर्षपछि पूर्ण रूपमा परिवर्तन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार यसबीचमा विषयभित्रका केही सामग्री मात्र परिवर्तन भएका थिए ।

विषय छनोटका आधार
साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । त्यसबाहेकका विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ११ मा विद्यार्थी भर्ना लिन शैक्षिक वर्ष २०७६ कै आधारलाई निरन्तरता दिइने भएको छ । यस्तै, परम्परागत शिक्षामा पनि गुरुकुल, मदरसा, गोन्पातर्फ कक्षा ११ मा विद्यार्थी भर्नाका लागि शैक्षिक वर्ष २०७६ कै भर्नाको आधारले निरन्तरता पाउने भएको छ ।नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्