RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/७ गते
५७९ पटक

हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमण शून्य देखिएको छ । एक साताअघि कोरोना परीक्षणका लागि नेपालगन्ज र सुर्खेत पठाइएका दुई सय ८० जनाकै रिपोर्ट नेगेटिभ आएसँगै डोल्पा कोरोना संक्रमणमुक्त भएको हो ।

लकडाउन खुलेसँगै सहरबजारबाट भित्रिएका स्थानीय, व्यापारी, कर्मचारी र छिमेकी जिल्ला रुकुम र जाजरकोटबाट ठूलो संख्यामा भित्रिएका कामदारका कारण डोल्पामा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

ठूलो संख्यामा  जिल्लाबाहिरबाट सर्वसाधारण भित्रिएपछि कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्लावासीले चिन्ता गरेका थिए ।

देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा नागरिकस्तरमा सचेतना ल्याउन सकेकै कारण डोल्पामा कोरोना संक्रमण शून्य भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘कर्णाली प्रदेशका अधिकांश जिल्लामा संक्रमित छन्, कतिपय जिल्लामा कर्फ्यु लगाइएको छ, डोल्पामा न संक्रमित छन् न कर्फ्यु लगाउनुपर्ने अवस्था छ,’ प्रजिअ सुनारले भने । ‘कोरोना संक्रमणबाट जिल्ला सुरक्षित हुनु जिल्लावासीका लागि खुसीको कुरा हो, तर पनि हामी सचेत छौँ, जिल्ला भित्रने नाकामा कडाइ गरेका छौँ, कोही जिल्ला भित्रिहाले भने अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको छ,’ उनले थपे ।

भोलिका दिनहरूमा जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह भइहालेमा निषेधाज्ञा  पनि लगाइने उनको भनाइ छ । जिल्लालाई कोरोना संक्रमणबाट जोगाउनका लागि जिल्ला प्रशासन, सुरक्षा निकायहरू, स्थानीय तह, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतका सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको प्रजिअ सुनारले बताए ।

अझै पनि जिल्लाका अन्यत्र ठाउँमा पनि पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ । अहिले जिल्लाको त्रिवेणी, मध्यवती भवन त्रिपुराकोट र दुनैस्थित सरस्वती माविमा गरेर तीन ठाउँमा क्वारेन्टिन बनाइएको छ ।  अहिले सातजनालाई क्वारेन्टिनमा राखिएको छ ।

डोल्पामा हालसम्म एक हजार ८५ जना पुरुष र चार सय १५ जना महिला गरेर एक हजार पाँच सयजनाको पिसिआर परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिए ।

त्यसैगरी डोल्पामा हालसम्म आठ सय ९८ पुरुष र पाँच सय ६७ महिला गरेर जम्मा एक हजार चार सय ६५ जनाको आरडिटी परीक्षण गरिएको प्रहरीले जनाएको छ ।नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्