RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/८ गते
७१३ पटक

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुव्र्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए । कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थिए ।

उनले यस्ता गतिविधिले सङ्क्रमितहरु झन पीडित हुनुपरेको राससलाई बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स हालेर नै त्यसको विरोध गर्नुभएको थियो । कतिपय स्थानमा सङ्क्रमितलाई राख्न नहुने भन्दै प्रदर्शन गरिएको घटना सार्वजनिक भएका थिए ।

कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमण जोखिमको मुल्याङ्कन, विश्लेषणसमेतको आधारमा थप जोखिम बढ्न नदिन सरकारले आवश्यक कदम चाल्दै आएको छ ।

जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्