RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१५ गते
१००३ पटक

काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ ।

आइतबार साँझ केन्द्रीय कारागारमा थप भएका ३५ जना कैदी बन्दीसहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र सात कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टि भइसकेको छ ।

त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरूमा उपचाररत छन् । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन् भने ३४ जना उपचाररत छन् । यस्तै, सात कर्मचारीमध्ये ६ जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कारागारमा रहेका कैदी बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीलाई कैदीबन्दीलाई अस्पताल वा अदालत लैजाँदा संक्रमण सरेको हुन सक्ने बताए ।

‘कारागार आफैंमा आइसोलेसन हो, त्यहाँभित्र बाहिरका व्यक्तिसँगको भेटघाट बन्द छ, अदालत वा अस्पताल लाँदा–ल्याउँदा संक्रमण सरेको हुन सक्छ, कताबाट फैलियो भन्ने थाहा छैन,’ सापकोटाले राजधानीसँग भने ।

देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन् । तर, देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन् । कारागार प्रशासनले कारागारभित्र कैदी बन्दीहरूलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएको बताउँदै आएको छ ।

‘बाहिर जस्तो कारागारभित्र सामाजिक दुरी कायम गर्न सकिने अवस्था छैन, हामीसँग त्यस किसिमको कारागारको संरचना पनि छैन,’ एक कारागार प्रशासनका कर्मचारीले भने । कैलालीमा कारागारमा कैदी बन्दी राख्न समस्या भएपछि महिला कैदी बन्दीहरू बस्ने वार्ड खाली गराएर बर्दिया र दैलेख सारिएको छ ।

यसैगरी, संक्रमणको जोखिमसँगै स्थान अभाव भएपछि केन्द्रीय कारागारमै रेडक्रसले दिएको टेन्टभित्र कैदी बन्दीलाई राखिएको छ । सुनसरीको झुम्का कारागारमा समेत आन्तरिक मामिला तथा कानुन मन्त्रलयले दिएको टेन्ट प्रयोग गरिएको छ ।

कारागार व्यवस्थापनले संक्रमण सुरु भएदेखि नै सावधानी अपनाउँदै कारागारमा रहेका कैदी बन्दीहरूसँग हुने आफन्तको भेटघाट बन्द गराएको छ भने परिवारबाट भेटघाटमा आउँदा ल्याइने खाना दिन बन्द गराएको छ ।

कैदी बन्दीहरूसँगको पारिवारिक भेटघाट बन्द गराएपछि कारागार व्यवस्थापनले हरेक कारागारमा परिवारसँग सम्पर्क गर्न भन्दै टेलिफोन संख्या बढाइदिएको छ । हाल केन्द्रीय कारागारमा मात्रै कैदी बन्दीका लागि २५ सेट टेलिफोन राखिएका छन् । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्