RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१५ गते
५९४ पटक

सांसद र मेयरको टकरावले नेपालगन्जको भेरी अस्पतालका लागि भेन्टिलेटर खरिद गर्न छुट्याएको डेढ करोड रुपैयाँ फ्रिज भएको छ । रकम अभाव हुँदा अस्पतालका लागि चन्दा संकलन गर्न थालिएको छ ।

बाँके २ का सांसद मोहम्मद इस्तियाक राई र नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणाको टकरावले डेढ करोड रुपैयाँ फ्रिज भएको पाइएको छ । २ असारको मन्त्रिपरिषद् बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विनियोजन भएकोमध्ये खर्च नभई बचत रहेको रकम कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने व्यवस्था गरेको थियो । त्यहीअनुसार डेढ करोड रुपैयाँ भेरी अस्पतालमा भेन्टिलेटर खरिद गर्न छुट्याइएको थियो । तर, सांसद राई र मेयर डा. राणाको टकरावले त्यो रकम फ्रिज भएको छ ।

नेपालगन्जका मेयर डा. राणाले बेवास्ता गर्दा डेढ करोड रुपैयाँ फ्रिज भएको सांसद राईको भनाइ छ । फ्रिज हुन लागेको रकम सदुपयोगका लागि भेन्टिलेटर र अन्य उपकरण खरिदका लागि विनियोजन गरेको बताउँदै सांसद राईले बनाए । उनले भने, ‘संशोधित नियमावलीअनुसार खर्च हुन नसकेको रकम कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारअन्तर्गत भेरी अस्पतालमा जडान गर्ने गरी भेन्टिलेटर र अन्य उपकरण गर्न बजेट रकमान्तर गरेको जानकारी पत्र १४ असारकै दिन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दियौँ । त्यो दिन नेपालगन्ज उपमहानगरपालिकालाई दिन नसकेका कारण १५ असारका दिन कार्यालय खुल्नेबित्तिकै पत्र बुझायौँ, तर कुनै जवाफ आएन ।’ उपमहानगरले त्यो रकम कोभिड– १९ कोषको खातामा रकमान्तर गरिदिन पत्र नपाठएकाले फ्रिज भएको उनको भनाइ छ ।

मेयर डा. राणाले भने सांसद राईकै कारण रकम फ्रिज भएको बताए । उनले पत्रकार सम्मेलन गरी सांसद राईले अनाहकमा आफूलाई आरोप लगाएको बताउँदै बचेको रकम निर्देशक समितिका संयोजक सांसद राईले सीधै कोभिड– १९ को खातामा नहालेका कारण फ्रिज भएको बताए । ‘निर्देशक समितिका संयोजकलाई योजना बनाएर खर्च गर भन्ने अधिकार छैन । अधिकार मिच्न खोज्दा रकम फ्रिज भएको हो,’ मेयर डा. राणाले प्रश्न गरे, ‘कहाँको अधिकार प्रयोग गरेर सांसदज्यूले योजना र बजेट पठाउनुभयो ?’

रकम फ्रिज भएको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी उनले पाएको बताए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च हुन नसकेको रकम कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि आइसोलेसनमा उपयोग हुने भेन्टिलेटर र अन्य उपकरण खरिद गरी भेरी अस्पतालमा जडान गर्ने अनौपचारिक जानकारी १४ असारको बेलुकी मात्र पाएको उनले बताए । जसले गर्दा प्रयोगमा आउन नसकेको उनको भनाइ थियो । सांसद राईले स्थानीय सरकारको काममा वेलावेलामा हस्तक्षेप गर्न खोजेको आरोप उनको थियो । मेयर डा. राणाले भने, ‘सांसद राईले वेलावेला उपमहानगरको काममा हस्तक्षेप गर्नुहुन्छ, तैपनि विकासमा असर पर्छ भनेर सहेर बसेको छु । अब हस्तक्षेपले सीमा नाघिसकेकाले चुप लागेर बस्न सक्ने अवस्था रहेन ।’

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विनियोजन भएको रकममध्ये खर्च नभई बचत रहेको रकमलाई कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्न १५ असारभित्र कार्यक्रम निर्देशन समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउनुपर्छ । निर्देशन समितिको संयोजक सम्बन्धित क्षेत्रको सांसद रहने व्यवस्था छ । जिल्ला समन्वय समितिले ढिला गरी १५ असार बिहान नेपालगन्ज उपमहानगरपालिकालाई पत्र दिएको थियो भने उपमहानगरले त्यही निर्देशन समितिलाई रकमान्तरका लागि पत्र बुझाउनुपर्ने थियो ।नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्