RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१७ गते
६८७ पटक

बहुदलीय व्यवस्थाको आगमनपछि परम्परागत ढङ्गबाट पठनपाठन थालिएको विद्यालय तहका पाठ्यक्रमहरूमा परिवर्तनको बाछिटा देखा परेको हो । पछिल्लो समयमा क्रमशः पाठ्यक्रममा सुधारका प्रयास भए पनि ती पाठ्यक्रमहरू अपेक्षाकृत रूपमा परिवर्तन हुन सकेका छैनन् । पाठ्यक्रमलाई समावेशी बनाउने चर्चा पनि नउठेको होइन, तर त्यसमा चर्चा नै बढी भयो । अन्ततः परम्पारावादी ढङ्गले नै तयार भयो । नवीनता खोज्नेका लागि केवल हात लाग्यो शून्य नै भयो ।
हाम्रा विद्यालय तहका पाठ्यपुस्तक निर्माणमा विभिन्न प्रकारका त्रुटि देखिन्छन् । विषयवस्तुगत, समावेशीगत, आधुनिक प्रविधि र प्रवृत्तिगत, पुनरावृत्तिगतजस्ता थुप्रै त्रुटिलाई पाठ्यक्रमविज्ञ र लेखक–सम्पादकले निराकरण गर्न सकेको देखिन्न । पाठ्यक्रमविज्ञ र लेखकको पहिलो त्रुटिका रूपमा अल्पसङ्ख्यक वा महिला स्रष्टालाई समेट्न नसक्नु, पुनारावृत्तिलाई निरन्तरता दिनु, राजनीतिक भागबन्डामा स्रष्टालाई निर्धारण गरिनु र उनीहरूका रचना पाठ्यक्रममा समावेश हुनु, स्तरीय रचनाका सट्टामा कम स्तरीय रचना समावेश गरिनु आदि रहेका छन् । देश पूर्ण रूपमा सङ्घीयतामा जाँदा पनि हाम्रा पाठ्यक्रमले अझै भौगोलिक, लैङ्गिक तथा क्षेत्रगत समावेशितालाई समेट्न सकेको देखिँदैन । पाठ्यक्रममा केही सुधार गर्ने जमर्कोे गरियो, तर त्यो अपेक्षाकृत सुधार हुन नसेकेको विज्ञहरूकै आरोप छ । अपेक्षाकृत रूपमा २०४६ मा पाठ्यक्रममा परिवर्तन नभए पनि त्यसको सुरुवातलाई सकारात्मक मानिएको थियो, तर २०६२-०६३ मा त्यो अपेक्षा गरेजति सुधारोन्मुख र प्रगतिशील देखिएन । जबकि महिला स्रष्टाको सवालमा पनि यस पाठ्यक्रमले आफ्नो उदार दृष्टिकोण प्रस्तुत गर्न सकेन । जबकि उनीहरूलाई पर्याप्त मात्रामा पाठ्यक्रममा समेट्न नसकिएको तथ्य कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकबाट नै सहज रूपमा प्रस्ट हुन्छ ।
हाम्रा पाठ्यक्रममा आफ्ना नजिकका तथा राजनैतिकवादलाई पृष्ठपोषण गर्दा पाठ्यक्रमको गुणस्तरीयतामा ह्रास आएको विद्वानहरू बताउँछन् । मानक साहित्य रचनामा स्थापित स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा समावेश हुनुपर्नेमा सो नभएको पनि उनीहरूको तर्क छ । विगतका तुलनामा महिला स्रष्टा सङ्ख्यात्मक रूपमा मात्र होइन गुणात्मक रूपमा समेत बढेका छन्, तर उनीहरूलाई सो अनुपातमा उचित स्थान नमिलेको देखिन्छ । अर्कातिर समावेशी भन्दैमा कम स्तरीय, स्पष्ट, प्रवृत्ति वा चिन्तन नभएकालाई पनि समेट्न नहुने विज्ञहरूको धारणा छ । त्यसैले अब बन्ने पाठ्यक्रममा राम्रा, स्थापित साहित्यकारलाई समेट्नुपर्ने विज्ञहरूको सुझाव रहेको छ । पाठ्यक्रम तयारीमा गुट, उपगुट, कोटा निहित भएको र राजनीतिक भागबन्डाका कारण समावेश हुनुपर्ने स्रष्टा छुट्न गएको देखिन्छ । यो पक्कै पनि राम्रो पक्ष होइन । समावेशिता, आरक्षण वा राजनीतिक वादका आधारमा मात्र रचना छनोट हुने हो वा स्तरीयता र विषयवस्तुका आधारमा छनोट हुने हो, त्यसमा गम्भीर ध्यान दिनु आवश्यक छ । आगामी दिनमा उनीहरूका रचना पाठ्यपुस्तकमा समावेश गर्नेतर्फ लेखन तथा सम्पादन मण्डल र नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । तर, अहिलेसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकले अल्पसङ्ख्यक लेखकका रचनालाई त्यतिमात्रामा समेट्न सकेको देखिन्न । पाठ्यपुस्तकमा साहित्यिक रचना समेट्दा राजनीतिक कोटा वा वादको गहिरो प्रभाव परेको देखिन्छ । पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले ती पाठ्यपुस्तकमा समावेशितालाई पूर्ण रूपमा स्वीकार गरेको देखिन्न ।
हालसम्म कक्षा १ देखि १० सम्मका विद्यालय पाठ्यपुस्तकमा पारिजात, सुधा त्रिपाठी, प्रभा भट्टराई र ललिता दोषी गरी चार जना महिला साहित्यकारका रचना मात्र समेटिएको पाइन्छ । महिला समावेशी र आरक्षणका जे–जति नारा फुके पनि वास्तवमा पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलले त्यसतिर ध्यान दिएको देखिन्न । कुनै स्रष्टाका बढी रचना समावेश हुँदा र कुनै स्रष्टाको एउटा पनि रचना समावेश नहुँदा त्यसलाई पक्कै पनि सम्पादन समूहले बेवास्ता गरेको हो भन्न सकिन्छ । विद्यालय तहको पाठ्यपुस्तकमा कक्षा ६ मा ललिता दोषी, कक्षा ७ मा प्रभा भट्टराई, कक्षा ८ मा प्रभा भट्टराई र कक्षा १० मा पारिजातका एक–एकवटा कविता समावेश भएका छन् भने कक्षा ९ मा सुधा त्रिपाठीको निबन्ध एउटा र कक्षा १० मा पारिजातको कविता एउटा समावेश भएको देखिन्छ ।
हाम्रा पाठ्यपुस्तकमा स्रष्टालाई उचित सम्मान दिन पनि पछि परेका छन् लेखक तथा सम्पादकहरू । उनीहरूले कहाँबाट कसको रचना साभार गरेका हुन् सो खुलाएका छैनन् भने लेखक कविका नाम पनि उल्लेख गरेका छैनन् । तर, कक्षा ११ को सबैको नेपाली पुस्तक (प्रथम संस्करण, २०६७) का लेखक–सम्पादकहरूले बोध अभिव्यक्ति शीर्षकमा विभिन्न पत्रपत्रिकामा छापिएका लेख समावेश गर्दा उनीहरूको नाम पनि समावेश गरेको देखिन्छ, जसबाट लेखकहरूमा उचित सम्मानबोध भएको अनुमान गर्न सकिन्छ । त्यसैले आगामी दिनमा यस प्रकारका त्रुटिलाई निराकरण गर्नुपर्ने देखिन्छ ।
त्यस्तै हाम्रा पाठ्यपुस्तकका अन्य त्रुटिमा लेखरचनाको पुनरावृत्ति समस्या पनि अर्को हो । कैयन् लेखरचनाहरू माथिल्लो तहमा पनि पढाइने र ती तल्ला तहमा पनि पुनरावृत्ति हुने गरेको देखिन्छ । फेरि कैयन् लेखरचनाहरू पुराना पाठ्यपुस्तकबाट साभार गर्दा वा पुनः त्यसैलाई समेट्दा नवीन विषयवस्तुलाई समेट्न नसकिएको देखिन्छ । यस्ता थुप्रै पुराना लेखरचना पुनरावृत्ति हुँदा नयाँ स्रष्टालाई समेट्न सकिएन, यदि पुनरावृत्ति रोकिएको भए त्यसको सट्टामा नयाँ स्रष्टाका रचना समावेश हुने मौका मिल्थ्यो । तर, त्यसका ठाउँमा अन्य लेखकका रचनालाई पनि समावेश गर्न सकिन्थ्यो । कैयन् कविता यसअगावैका पाठ्यपुस्तकमा समावेश भएका कारण नवीनता खोज्नेहरूका लागि पुरानै विषयवस्तु हात लाग्ने अवस्था छ । पुनरावृत्तिलाई यसपटकको पाठ्यपुस्तकले पनि रोक्न सकेको छैन । यसअगाडि तयार भएका महेन्द्रमाला पुस्तक र त्यसपछिका परिमार्जित अन्य पाठ्यक्रममा समावेश भएका कैयन् साहित्यिक रचना अहिले पनि विभिन्न तहमा समावेश गरिएका छन् । यसले हाम्रा लेखक–सम्पादकमा पुरानै ढर्रा र सोचको अन्त्य नभएको प्रतीत हुन्छ । नवीन विषयवस्तुका विभिन्न रचना हाम्रा बालबालिकाले कहिले पढ्न पाउने ? पाठ्यपुस्तकमा नवीन, समसामयिक रचना कहिले समावेश हुने ? यी यावत् कुराहरू आगामी दिनमा आउने परिवर्तित पाठ्यपुस्तकले निराकरण गर्नेछन् कि पुनः निरन्तरता दिनेछन्, हेर्न बाँकी नै छ ।
यस शैक्षिक वर्ष २०७७ देखि लागू हुने कक्षा ११ को अनिवार्य नेपाली पुस्तकमा के–कस्ता तवरले रचनाहरू समावेश हुने हुन्, सोबाट पनि उक्त कुराको आकलन गर्न सकिन्छ । हाम्रा पाठ्यक्रमविज्ञ र लेखकहरू कति समयसापेक्ष छन्, तर विद्यमान कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तकमा विभिन्न साहित्यकारका रचना समावेश गरिए पनि कुनै लेखक धेरै पटक आवृत्त भएका छन् भने कुनैको एउटै रचना पनि समावेश भएको छैन । यसले पाठ्यवस्तु छनोटमा सन्तुलन कायम नभएको देखिन्छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्