RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१८ गते
१२१ पटक

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण कैदीबन्दी प्रभावित हुन थालेपछि सरकारले कैदको प्रकृति हेरेर माफी दिने गरी छलफल सुरु गरेको हो । त्यसका लागि कानुन संसोधन गर्नुपर्ने विषयतर्फ छलफल सुरु भएको छ ।

समितिको बैठकले विभिन्न अवसरमा कैद माफी गरिने कैदीबन्दीलाई अहिले नै माफी गर्नेगरी व्यवस्था गर्न सरकारलाई भनिसकेको छ । समितिकी सभापति शशी श्रेष्ठले कोरोना सुरु हुनु अघिदेखि नै गरिएका पटकपटकको अनुगमनपछि सरकारलाई कारागारमा कैदीबन्दी घटाउन निर्देशन दिँदै आएको र हाल संक्रमण व्यापक बन्दै गइरहेको अवस्थामा ऐन कानुन संसोधन गरेर भए पनि कैदको प्रकृति हेरेर कैद मिनाहा गर्न सकिने जतिलाई छाड्न निर्देशन गरिएको बताइन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले कानुन नै कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई सहजै छाड्न नमिल्ने किसिमको रहेकाले अवस्थाअनुसार कानुन संशोधनको विषयमा वर्क आउट भइरहेको जानकारी दिए ।

‘कानुनले रोगले भयाभह रूप लियो कैदीलाई छाड्दिऊँ भन्दैन, कानुनलाई संसोधन नगरी छाड्न मिल्ने अवस्था पनि छैन त्यतातर्फ वर्क आउट भइरहेको छ, केही निर्णय होला,’ गृह मन्त्रालयका ती अधिकारीले राजधानीसँग भने ।

तर, समिति सभापति श्रेष्ठले भने संविधान दिवस, दसैं र प्रजातन्त्र दिवसजस्ता राष्ट्रिय दिवस तथा विशेष अवसरमा कैदीबन्दीलाई माफी दिंदै आइएकाले त्यस्ता कैदीबन्दीको तथ्यांक तयार गरेर अहिले नै परिवारको रोहबरमा छाड्न सरकारलाई विकल्प दिइएको जानकारी दिइन् । उनले त्यस्ता कैदीबन्दीलाई राज्य पक्षबाट नै संयन्त्र बनाएर अनुगमन गर्ने तथा निगरानीमा राख्ने गरी छाड्न सकिने बताइन् ।

सरकारले गम्भीर प्रकृतिका तथा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीलाई त्यस्ता विशेष अवसरमा कैद माफी दिँदै आएको छ । गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा सरकारले २ सय ३३ जना कैदीबन्दीलाई कैद मिनाहाको निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट सिफारिस भएपछि सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट यसरी कैद माफी गर्ने प्रचलन छ ।

तर, बलात्कार तथा जबरजस्तीकरणी, भ्रष्टाचार, लागूऔषध, राज्यविरुद्धको अपराधलगायतका कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२० मा उल्लेख गरिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले एकैपटक ठूलो संख्यामा कैदीबन्दीलाई छाड्न सक्ने अवस्था मौजुदा काननुनमा नरहेकाले सीमित संख्याका कैदीबन्दीलाई भने कानुन पु¥याएर छाड्दै आइएको जनाए ।

केन्द्रीय करागार जगन्नाथदेवलमा मात्रै कोरोना संक्रमित कैदीबन्दीको संख्या ५२ पुगेको छ भने सुरक्षामा खटिएका ५६ प्रहरीलाई संक्रमण पुष्टि भइसकेको छ । केन्द्रीय कारागारमा एक संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्