RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१९ गते
७३९ पटक

कोरोना महामारीसँगै मुलुकमा इन्धन खपतमा करिब ७५ प्रतिशतले कमी आएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न लगाइएको निषेधाज्ञासँगै अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा उद्योग व्यवसाय बन्द र विकास निर्माण ठप्प भएसँगै इन्धन खपत घटेको हो । नेपाल आयल निगमका प्रवक्ता वीनितमणि उपाध्यायले निषेधाज्ञाका कारणले बजारमा इन्धन खपत ७५ प्रतिशतले घटेको जानकारी दिए ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ४२ हजार ७ सय ८७ किलोलिटरमा खपत हुने गरेकोमा अहिले पछिल्लो निषेधाज्ञापछि ४ हजार ६ सय ७५ किलोलिटर मात्र खपत भएको छ । यसैगरी सामान्य अवस्थामा मासिक १ लाख २३ हजार ३ सय २९ किलोलिटर डिजेल खपत हुने गरेकोमा अहिले घटेर १२ हजार २ सय ६३ किलोलिटरमा झरेको हो ।

यस्तै, सामान्य अवस्थामा मासिक हवाई इन्धन ११ हजार ८ सय ३० किलोलिटर खपत हुने गरेकामा अहिले घटेर ३ सय एक किलोलिटरमा झरेको हो । यसैगरी मासिक १ हजार ४ सय ९५ किलोलिटर मटीतेल खपत हुने गरेकामा अहिले एक सय ३६ किलोलिटरमा झरेको छ ।
निषेधाज्ञाले सवारी साधन नचल्दा अहिले सामान्य अवस्थाको मागको तुलनामा पेट्रोलियम पदार्थको खपत एकदम न्यून रहेको निगमको भनाइ छ ।

पछिल्लो समय पेट्रोलियम खपत घटेपछि आयातमा पनि कमी आएको निगमको भनाइ छ । खपत घटेपछि निगमका डिपो आवश्यकताअनुसार खोल्ने गरिएको उनले बताए । स्थानीय प्रशासनसँगको समन्वयमा कर्मचारीको संख्या घटाएर आवश्यकता अनुसार पेट्रोलियम वितरण हुने डिपोहरू खोल्ने गरेको निगमको भनाइ छ ।

इन्धन खपत न्यून हुँदा पर्याप्तमात्रामा भण्डारण रहेको निगमको भनाइ छ । अहिले पेट्रोल ७५ प्रतिशत र डिजेल ८३ प्रतिशत भण्डार रहेको छ । नियमित आयात भइरहेकाले खाना पकाउने ग्यास पनि पर्याप्त मात्रामा रहेको निगमले जनाएको छ । निगमका अनुसार निषेधाज्ञापछि गत साता सम्म मुलुकमा पेट्रोल ४ हजार ४ सय ८० किलोलिटर पेट्रोल आयात भएको छ । सोही अवधिमा डिजेल १२ हजार ९ सय ६२ किलोलिटर आयात भएको छ । सो अवधिमा १२ हजार ९ सय सय ७२ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै मटितेल एक सय किलोलिटर आयात भएको छ । यस्तै हवाई इन्धन एक हजार ३ सय आयात भएको छ भने ३ सय एक किलोलिटर विक्रि भएको छ । मुलुकमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चैत ११ देखि लकडाउन गरेसँगै इन्धनको खपत न्युन रहेको छ । बजारमा खपत घटेसँगै आयात पनि कमी भएको निगमको भनाइ छ ।

यस अवधिमा खाना पकाउने ग्यासको खपत भने पर्याप्तमात्रामा भएको छ । ग्यासको आयात पर्याप्त भएकाले बजारमा पनि पर्याप्त मात्रामा रहेको छ । चैत महिनामा अभावको भएको ग्यास पछिल्लो समय उद्योगसँग पर्याप्त मात्रामा स्कट रहेको व्यवसायीले बताएका छन् ।कारोबार दैनिक

प्रतिकृया दिनुहोस्