RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२१ गते
५१५ पटक

बाजुरा । बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रका स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा खाद्यान्न संकट सुरु भएको हो । खाद्य संकटलाई मध्यनजर गर्दै विपद्मा परेकालाई राहत दिन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा २ सय क्विन्टल चामल पठाइएको छ ।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा दुई महिनादेखि खाद्यान्न मौज्दात शून्य भएपछि २ सय क्विन्टल चामल कोल्टी पठाइएको हो ।

कोरोनाका कारण भारत र जिल्लाबाहिर रहेका जनशक्ति जिल्लामा भित्रिएसँगै जेठको दोस्रो साताबाट ती डिपोमा चामल सकिएको हो । लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीबाट समयमै चामल नपठाइएकाले यो समस्या आएको हो । अहिले बाजुरा आउने बाटो बिग्रेका कारण हवाईबाहेक स्थलगत ढुवानीको विकल्प नहुँदा त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएको हो ।

लिमिटेडको कोल्टी डिपोमा गत आर्थिक वर्षको ८ हजार क्विन्टल चामल पूरा ढुवानी हुन नसकेकाले पनि समस्या आएको हो । कवाडी डिपोमा भएको २ हजार क्विन्टल चामल डिपोमा पु¥याउनेबित्तिकै बिक्री भएको थियो । त्यसपछि सडकको समस्या देखाउँदै लिमिटेडले खाद्यान्न आपूर्ति गर्न सकेको छैन । बाजुरामा आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ ।

हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । त्यसको पूर्ति लिमिटेडले गर्ने गरेको देखिन्छ । कोरोनाबाट समस्यामा परेका स्थानीयलाई भोकमरीले झनै सताउने देखिन्छ ।

कृषि ज्ञान केन्द्र, बाजुराले दिएको जानकारीअनुसार जिल्लाको पूरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । त्यसमा जम्मा सिञ्चित क्षेत्र १.४२ प्रतिशत मात्र छ । अर्थात्, ७.७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ । अकासे पानीको भरमा खेती हुने हुँदा किसानले अहिले रोपाइँ गर्न सुरु गरेका छन् ।

बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ ।

‘हाम्रो जिल्ला खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो भएको छैन, २० प्रतिशत उत्पादन घटेको छ, हाम्रोमा तीन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ,’ कृषि ज्ञान केन्द्र बाजुराका कृषि अधिकृत मीनप्रसाद जोशीले भने, ‘खाद्यान्न आपूर्ति नगर्ने हो भने ठूलो संख्यामा भित्रिएको जनसंख्यालाई खाद्यान्न व्यवस्थापनका लागि समस्या छ ।’

नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले भने, ‘मान्छेले बाँच्न पाउने अधिकार राज्यले सुरक्षित गरिदिनुपर्छ । अहिले स्थलगत मार्गबाट खाद्यान्न ढुवानी सम्भव देखिँदैन । चारैतिरको बाटो पहिराले बगाएकाले तिहारअगाडि बाटो खोल्न सम्भव छैन । कोल्टीमा रहेको विमानस्थलबाट हवाईमार्फत ढुवानी गरेर चाँडोभन्दा चाँडो खाद्यान्न आपूर्तिमा जोड दिनुपर्ने देखिन्छ ।’

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले भने, ‘वर्षाका कारण सडक बिग्रिएर हामीले ढुवानी गर्न सकेका छैनौं । बूढीनन्दा नगरपालिकाको कोल्टी डिपो र हिमाली गाउँपालिकाको कवाडी डिपोमा खाद्यान्न मौज्दात भएको लामो समय भइसक्यो । स्थलगत रूपमा ढुवानीको तत्काल सम्भावना छैन । त्यसकारण कोल्टी विमानस्थलबाट हवाईमार्फत ढुवानी गरे मात्र समस्या समाधान हुन सक्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले भने, ‘जिल्लाको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्नको समस्या छ । त्यहाँको खाद्य डिपोमा चामलको मौज्दात शून्य छ । त्यसका लागि जिल्ला खाद्य व्यवस्थापन समितिले दुईपटक माग गरी पठाएको छ । तर आपूर्ति हुन सकेको छैन । अब तिहारअगाडि बाटो नबन्ने भएकाले हवाई जहाजबाट ढुवानीका लागि निर्णय गरी माग गर्ने योजना बनाएका छौं ।’

जिल्लालाई बर्सेनि २८ हजार १ सय पाँच मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अहिले १५ हजार मेट्रिक टन खाद्यान्न अपुग छ । नेपाल खाद्य संस्था, स्थानीय व्यापारी, विश्व खाद्य कार्यक्रमलगायतले जिल्ला बाहिरबाट ढुवानी गरेर आवश्यकता पूरा हुने गरेको छ ।

असार पहिलो साताबाट वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड र स्थानीय सडक अवरुद्ध हँुदा खाद्यान्न ढुवानीमा समस्या भएको हो । बजारमा कालोबजारी पनि बढ्दै गएको छ । १८ सय मूल्यमा पाइने चामलको २५ सय र १८ सय पर्ने ग्याँसको ३ हजार रुपैयाँसम्म तिर्नुपरेको छ । बन्दका नाममा व्यापारीले मनोमानी रूपमा मूल्य लिने गरेका छन् ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्