RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
८५३ पटक

आफ्नो दाबीबमोजिम फैसला नभएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले करिब सात दर्जन मुद्दामाथि पुनरावेदन गरेको छ । विशेष अदालतबाट भएका फैसला चित्त नबुझेपछि आयोगले गत आर्थिक वर्ष ०७५,७६ मा ८३ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यसअघि पनि अदालतबाट भएका कतिपय फैसला चित्त नबुझेको भन्दै आयोग पुनरावेदनमा जाने गरेको थियो ।

आव ०७३, ७४ मा आयोग ६८ वटा मुद्दामा पुनरावेदनमा गएको थियो । आव ०७५, ७६ मा विशेष अदालतबाट २०४ वटा मुद्दाको फैसला भएका थिए, त्यसमध्ये एक सय ८० वटा मुद्दा दाबीबमोजिम भएको आयोगले जनाएको छ । २४ वटा मुद्दा आयोगले हारेको थियो ।

गत वर्ष फैसलामा आयोगलाई ८८ दशमलव २४ प्रतिशत सफलता प्राप्त भएको छ । त्यसअन्तर्गत ८० दशमलव शून्य पाँच प्रतिशत भ्रष्टाचार र ९६ दशमलव ५५ प्रतिशत सफलता नक्कली शैक्षिक प्रमाणपत्रतर्फ छ । आयोगको इतिहासमा आव ०६१, ६२ मा अदालतबाट भएका फैसलामा सबैभन्दा ठूलो सफलता मिलेको थियो ।

सो आवमा फैसला भएकामध्ये ९१ दशमलव ५ प्रतिशत आयोगको पक्षमा भएको थियो । त्यस्तै, ०६६,६७ मा आयोगलाई सबैभन्दा कम सफलता मिलेको थियो । सो वर्ष अदालतबाट भएका फैसलाको आयोगका पक्षमा आएको सफलता दर ५२ दशमलव ९ प्रतिशत थियो ।

पुनरावलोकन न्यून

विशेष अदालतबाट भएका फैसलाविरुद्ध पुनरावेदनमा गए पनि पुनरावेदनबाट प्राप्त फैसलाबमोजिम आयोगले कमै मुद्दामा मात्र पुनरावेदन गरेको छ । अदालतमा दायर गरेका मुद्दाहरूमा अदालतबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा आयोग पुनरावेदनमा जान्छ । पुनरावेदनपछि भएको फैसलामा पुनरावलोकन गर्ने आवश्यकता महसुस भएको खण्डमा आयोगले पुनरावेदन गर्न सक्छ । आर्थिक वर्ष ०५३, ५४ यता आयोगले जम्मा १० वटा मुद्दामा मात्र पुनरावलोकन गरेको छ । नयाँ पत्रिका दैनिकबाट ….

प्रतिकृया दिनुहोस्