RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२३ गते
९९५ पटक

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् । पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।

त्यही भएर पनि होला – पछिल्लो समय काठमाडौँ उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् ।
के तिनीहरु सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तरपनि सडकमा प्रेस लेखेको गाडी बढेको बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन ।

कसलाई के थाहा गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ? सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत आफ्नो चासो दिएको थियो ।

यस्तैमा सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गर्यो । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको खुलासा भयो ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए ।

पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
‘स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ,’ एसएसपी थापाले भने, ‘एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’

होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताए । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ ।
एसएसपी थापाले पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढेको दावी गरे । ‘पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको छ,’ एसएसपी थापाले भने ।

सम्बन्धित जिल्लाको शाखालाई अनुगमन गर्न निर्देशन दिएका छौं : गोविन्द आचार्य
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर पाएपछि सम्बन्धित जिल्लाको शाखालाई समेत अनुगमन गर्न निर्देशन दिएको बताए ।
वास्तविक पत्रकारलाई कुनै रोकतोक नभएको बताउँदै अध्यक्ष आचार्यले नक्कली प्रसे कार्ड बोकेर हिँड्नेलाई चेकजाँच गर्न प्रहरीलाई आग्रह गरेको जानकारी दिए । प्रेसको दुरुपयोग हुन नदिने आचार्यले बताए ।

आचार्यले सर्लाहीमा प्रेस लेखेको मोटरसाइलकमा हतियार ओसारपसार गरेको थाहा पाएपछि महासंघले प्रहरीलाई खबर गरेको स्मरण गरे । त्यस्ता अवैध कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही हुनुपर्ने आचार्यले बताए । https: ratopati.com

 

प्रतिकृया दिनुहोस्