RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२४ गते
५५७ पटक

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का हातमा पारी मल आयात अलपत्र पार्ने सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई तत्काल कालोसूचीमा नराख्ने भएको छ । ठेक्का हातमा लिई मल आयात अलपत्र पारेर मुलुकभर रासायनिक मलको चरम अभाव सिर्जना गराउने सैलुङ इन्टरप्राइजेजको अर्काे ठेक्का सम्झौता बाँकी नै भएको हुँदा लिमिटेडले तत्काल कालोसूचीमा नराख्ने भएको हो ।

लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले सैलुङ इन्टरप्राइजेजको मल आयात गर्ने अर्काे ठेक्काको समयावधि बाँकी नै हुँदा कृषि सामग्री कम्पनीले तत्काल कालोसूचीमा राख्न नसक्ने बताए । उनले सैलुङ इन्टरप्राइजेजसँग ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि गरिएको सम्झौताको समयावधि २ महिना बाँकी भएकाले तत्काल कालोसूचीमा राख्न समस्या भएको बताए ।

उनले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि गरिएको ठेक्का सम्झौताअनुसार मल आयात नगरेपछि दोस्रो पटकको ठेक्का सम्झौता रद्द गरेर मात्र कालोसूचीमा राख्ने नराख्ने प्रक्रियामा जान सकिने बताए ।

प्रवक्ता पोखरेलले अब कृषि सामग्रीसँग होनिको मल्टिपलको भने कुनै सम्झौता नभएको बताए । कुनै सम्झौता नभए पनि होनिको मल्टिपललाई पनि तत्काल कालोसूचीमा राख्न नसकिने उनले प्रस्ट पारे ।

होनिकोसँगको सम्झौताका आधारमा छलफल गरेर मात्र कालोसूचीमा राख्ने नराख्ने विषयमा निर्णय लिइने उनको भनाइ छ । त्यसका लागि केही समय लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ ।

प्रवक्ता पोखरेलले सम्झौता र प्रचलित कानुन एवं सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम कालोसूचीमा राख्ने बताए । मल आयात अलपत्र गर्ने कम्पनीलाई कालोसूचीमा राख्ने विषयमा विभिन्न विज्ञसँगको छलफल र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा हेरेर कालोसूचीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्ने नराख्ने निर्णय लिन कम्पनीलाई केही समय लाग्ने जनाए । उनले दुई कम्पनीको धरौटी जफतका लागि सोमबार बैंकलाई परिपत्र गरेको बताए ।

लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मल आयात ठेक्का सम्झौता गर्दा कुनै पेस्की नदिइएको बताए । ठेक्का सम्झौता गर्दा पेस्की दिइने नियम नै नरहेको भण्डारीको भनाइ छ । प्रबन्ध सञ्चालक भण्डारीले भने, ‘मल आयातको ठेक्का लिएर मल आयात अलपत्र गर्ने सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कृषि सामग्रीले कालोसूचीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने हो । कालोसूचीमा राख्ने नराख्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको काम हो । कृषिमन्त्रीले नै कारबाही गरी कालोसूचीमा राख्ने भनेपछि कृषि सामग्रीले नराख्ने भन्ने कुरा नै छैन ।’

लिमिटेडले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई मल आयातका लागि दिएको समयावधि गत शनिबार सकिएपछि आइतबार सम्झौता रद्द गरिएको थियो । लिमिटेडले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग २५÷२५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि २४ र २७ २०२० मा सम्झौता गरेको थियो ।

५ सेप्टेम्बरसम्ममा सबै मल आयात गरिसक्नुपर्ने म्याद दिइएको थियो । तर, पटक पटक ताकेता गर्दा पनि सम्झौताअनुसार मल आयात नगर्दा सम्झौता रद्द गरिएको थियो । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्