RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२४ गते
५६४ पटक

काठमाडौं, भदौ २४ गते । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो गरी निजी सवारीलाई जोर विजोर चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारी तथा अन्य सम्बन्धित सरोकारवालहरुको हिजो भएको बैठकले सो अनुसारको निर्णय गरी गृहमन्त्रालय पठाएको बैठकका एक सहभागीले बताए ।

यसबारे गृहबाट अनुमति प्राप्त हुनसाथ आजै निषेधाज्ञाको मोडालिटी सार्वजनिक गरिने ती अधिकारीको भनाइ छ । मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर निर्णय गृह मन्त्रालय पठाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि निर्णय गरेको र सोही जानकारी गृह मन्त्रालयमा पठाएको बताउनुभयो ।

मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले सबैसँगको छलफलको आधारमा निर्णय लिइसकेको सो निर्णयलाई राय लिनको लागि गृह मन्त्रालयमा पठाएको र गृहमन्त्रालयले निर्देशन दिएपछि निर्णय सार्वजनिक गर्ने बताउनुभयो । बुधबार समेत उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकपछि निर्णय सार्वजनिक गर्ने उहाँले बताउनुभयो । निर्णय के भएको बारेमा भने दाहालले केही बताउन चाहनु भएन । गोरखापत्र अनलाईन

प्रतिकृया दिनुहोस्