RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२६ गते
९११ पटक

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए ।

उनका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ ।

पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिएका छन् ।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालनयोग्य भएको छ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ ।

बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ ।

हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४।५ प्रतिशत प्रगति हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्