RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/२९ गते
९८१ पटक

काठमाडौं । विनाशकारी महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माणअन्तर्गत १४औं तलाको ढलान सम्पन्न भएको छ । अब धरहराका ८ तलाको ढलान गर्न बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणअन्तर्गत १४औं तलाको ढलान सम्पन्न भएको र अब ८ तलाको ढलान गर्ने कार्य बाँकी रहेको जनाएको छ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुनेछ भने ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । वि.सं. १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको विनाशकारी भूकम्पले ९ तलाको धरहरा पनि पूर्ण रूपमा भत्काइदिएको थियो ।

जीआईईटीसी–रमन जेभीले धरहरा पुनर्निर्माणको काम गर्दै आएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । १२ वैशाख २०७२ मा भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्षको पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

धरहरामा बगैंचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङ स्थल रहनेछन् । बृहत् धरहरा पुनर्निर्माणको क्रममा अहिले हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराउने काम पनि भइरहेको छ । उक्त ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् ।

विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पुनर्निर्माणमा पनि असर परेको छ । यता, रानीपोखरी पुनर्निर्माणअन्तर्गत ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालोमाटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएसँगै वर्षाको पानी जम्मा गर्ने काम पनि भइरहेको छ ।

प्राधिकरणका अनुसार अब बालगोपाल मन्दिरको निर्माण र पोखरीको सौन्दर्यीकरणलगायतका काम बाँकी छन् । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्