RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
५२२ पटक

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हाल विश्वको अवस्थामै असर पार्ने गरी आएको महासङ्कटका कारण विश्वका कुनाकाप्चाबाट लाखौं नेपाली स्वदेश फिर्ता भएका छन् ।

यस्तो सङ्कटबाट बच्न स्वदेशको सम्झना आउनु भनेको आमाको काख नै सुरक्षित भनिएजस्तै हो । पक्कै पनि मातृभूमिजत्तिको सुरक्षित र प्यारो स्थान अन्त कतै भेटिन्न । प्रवासबाट फर्किएर नेपाली युवाहरू आफ्नो गाउँघर आइपुगेका छन्, जसलाई देश विकासको एक ठूलो अवसरमा परिणत गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रवासबाट फर्किएका उनीहरूले प्रवासमा सिकेको, जानेको, ज्ञान, सीप, जोस, जाँगर, अनुभव र दक्षता आफूसँगै लिएर आएका छन् । त्यसैले यो अवसरलाई समयमै सदुपयोग गर्नु आवश्यक छ ।

हाल कोरोनाका कारण जनमानस धेरै अत्तालिएको अवस्था भए पनि अब यसलाई हामीले जीवन पद्धतिकै रूपमा अँगाल्दै हिंड्नुबाहेक अरू विकल्प छैन । आखिर कति दिन डराएर बाँच्ने ? त्यसैले सचेत रहौँ, सचेतना प्रवाह गरौं र अनुभव, ज्ञान, सीप आदानप्रदान गर्दै स्वदेशी माटोमै मलजल गरौं ।

दैनिकीमा फर्किने यही नै सर्वोत्तम उपाय हो । परदेशबाट फर्किएका नेपाली दाजुभाइ–दिदीबहिनीले गाउँघरलाई उज्यालो बनाउनुका साथै गाउँघरमा खुसी र अवसरको वहार ल्याएका छन् । रोगको त्रास आफ्नो ठाउँमा होला, तर आफन्त मिलनको खुसी सर्वोपरि छ ।
यस महामरीले विश्वको अर्थतन्त्र संकटोन्मुख भइरहेको छ ।

यस्तो बेला हामी त्यसबाट अछुतो रहन सक्दैनौं, तथापि परम्परागत कृषिमा आधारित अर्थतन्त्र भएकाले बाँच्नका लागि तत्कालै महासंकट त नआउला, तर देश विकासका विविध आयाममा निश्चय नै गम्भीर प्रभाव पर्ने देखिन्छ । प्रवासमा गएका नेपालीबाट भित्रिने अर्बौं विप्रेषणमा परिरहेको असर त देखि नै सक्यो र यसका कारण देशको अर्थतन्त्र कमजोर पर्ने आकलन पनि गर्न थालिएको छ ।

परिणाम हाम्रो अगाडि आउन थालिसकेको छ । तर, यस्तो अवस्थामा होनाहार समूहका लाखौं नेपाली गाउँघर फर्कनु एक ठूलो अवसर हो । त्यसैले यस्तो अवसरको अवस्थामा गाउँघरमा फर्केका लाखौं नेपालीले आफू प्रवासमा रहँदा सिकेको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्दै आफ्नो देशमा रहेका उद्योगधन्दामा नयाँ अनुभव र सीप प्रयोग गरी बाँझो जमिनलाई उब्जाउ र हराभरा बनाई कृषिमा क्रान्ति ल्याउन सकिन्छ । यसो गर्न सके देशले चाँडै नै विकासको काँचुली फेर्नेछ ।

यसर्थ, कोरोनाका कारणले फर्केका युवाशक्तिलाई अब कसरी देश विकासमा परिचालन गर्ने हो, त्यसतर्फ बेलैमा राज्यको ध्यान जानु जरुरी छ । यो कुरामा बेलैमा विचार पु¥याउन सकिएन र फेरि पनि युवाको रोजाइ प्रवासमै जाने अनि राज्य पनि त्यसैको प्रवद्र्धनमा लाग्ने हो भने कोरोनाको ठूलो संकटले ल्याएको यो सुनौलो अवसर व्यर्थै खेर जानेछ ।

त्यसैले संकटतिर औंला ठड्याएर बस्नुभन्दा मुठ्ठी कसेर अवसरको पहिचान र स्रोत परिचालनमा लाग्नु अपरिहार्य छ । यो जनआकांक्षा पनि हो । विकासका लागि देशका युवा कर्णाधार हुन् । त्यसकारण उनीहरूलाई साथमा लिएर एकपटक देशमा द्रुत विकासको ढोका खोल्ने स्वर्ण अवसर हाम्रो सामु आएको छ ।

यस अवसरको सदुपयोग गर्न सरकारले चाँडोभन्दा चाँडोे नीति बनाउनुपर्छ र युवाले पनि आफ्नो मातृभूमिप्रतिको दायित्व सम्झी कम्मर कसेर होस्टेमा हैंसे गर्नुपर्छ । अब विदेशको मोह त्याग्नैपर्छ । स्वदेशकै माटोमा पसिना बगाएर मानो खाएर मुरी उब्जाउनुपर्छ । स्वदेशमै मनोमुरीका कुरा गर्नुपर्छ । आफ्नो घर, परिवारसँग वर्षौं छुट्टिएर रहनुपरेको वियोग, अर्काको देशमा गएर गर्नुपरेको संघर्षभित्रका पीडा र मातृभूमिको ऋणको भारले प्रेम, स्वाभिमान र इमानदारिता मागेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्