RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
१०५० पटक

बझाङ । २१ भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरका कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत पनि गरिनन् ।

तर, प्रहरीको नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।

भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली २० भदौको रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । हुन त उनीसँग पनि घरमा प्रशस्त खाद्यान्न थिएन । मनकारी रुप्सीले प्रहरीको भोको पेट देख्न सकिनन् । आफूसँग भएको दुई कट्टा चामलमध्ये एक कट्टा चामल प्रहरीलाई दिइन् ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । रुप्सीको घरबाट लगेको एक कट्टा चामललाई पाँच दिन पु-याएका प्रहरी छैँटौं दिनदेखि फेरि भोको पेट बस्नुपर्ने अवस्था आयो । उनीहरूले एक दुई दिन स्थानीयसँग भएको खोले र उवाले जेनतेन छाक टारे । त्यसपछि स्थानीय भीम रोकायालाई गुहारे ।

उनले पनि एक कट्टा चामल पैँचो दिए । उनीबाट लिएको चामल पनि सकेपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले स्थानीय एक जनाबाट फेरि एक कट्टा चामल निकालेर दिए । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाइराखेको छ सीमा प्रहरी चौकी धुली ।

यो ठाउँ अत्यन्तै विकट छ । खाद्यान्न पनि पाउन मुस्किल पर्छ । स्थानीयले खेती किसानी गरेर जेनतेन जीवन धानिरहेका छन् । तर, प्रहरीले भने लामो समयदेखि खाद्यान्न अभाव झेल्नुपरिरहेको छ । त्यसैले कैयौं रात यहाँका प्रहरी भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

२५ साउन २०७५ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुली पुगेका थिए । आफ्ना समस्या बुझ्छन् कि भनेर प्रहरीहरू निकै खुसी भए । तर, उनीहरूले आफ्ना समस्या भन्नै सकेनन् ।

 

२२ चैत २०७५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली पनि सीमा प्रहरी चौकी धुलीको अनुगमन गर्न गयो । त्यतिबेला पनि समस्या उस्तै थियो । तर, प्रजिअले आफ्ना समस्या बुझ्नै नचाहेको प्रहरीको गुनासो छ ।

स्थानीय शिक्षक धनबहादुर विष्ट भोटे भन्छन्, ‘अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र डीएसपीसहितको टोली आउँछन्, उनीहरू अनुगमन गरेर फर्किन्छन्, सीमामा कार्यरत प्रहरीका समस्या जस्ताको तस्तै । प्रहरीको समस्या त यस्तो छ भने हाम्रो समस्या कस्तो होला ?’

सरकारले प्रहरीलाई खाद्यान्नको सट्टा नगद दिने गरेको छ । तर, यो ठाउँमा पैसा भएर पनि खाद्यान्न किन्न सकिँदैन । जसको मारमा प्रहरी टोली छन् ।

सडक मार्गको असुविधाका कारण यहाँ सहजै खाद्यान्न नपाइएको हो । हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदिए समस्या समाधान हुने शिक्षक धनबहादुर भन्छन् ।

यो समस्या सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीलाई मात्रै नभएर साइपाल गाउँपालिकाका ४ र ५ वडाका केही गरिब घर परिवारमा समेत छ । जिल्लाकै सबैभन्दा विकट भएका कारण यहाँ बर्खाको समयमा भेडा–खच्चड जाने बाटो पनि हुँदैन । सदरमुकाम चैनपुरबाट झन्डै तीन दिनको पैदल यात्रामा पर्ने धुली, न्युन्ना, बलौडी, शैनगाउँ र जगेरामा खाद्यान्न अभाव हुने गर्दछ ।

सीमा प्रहरी चौकी धुलीमा कार्यरत नवकुल सिंह प्रहरी सेवामा प्रवेश गरेको १७ वर्ष भयो । जागिरको सिलसिलामा उनी झन्डै दर्जन जिल्लामा पुगिसकेका छन् । तर, आफूले यतिसम्म खाद्यान्न अभाव अरू ठाउँमा भोग्नुनपरेको बताउँछन् ।

प्रहरी हबलदार जयबहादुर तिरुवा यो ठाउँमा भोग्नुपरेको समस्या संकटकालको भन्दा बढी रहेको बताउँछन् । उनले भने, ‘संकटकालमा त खान त पाइन्थ्यो । तर यहाँ पैसा भएर पनि खाद्यान्न पाइँदैन । यहाँ खाद्यान्न आउने भनेको भेडा–खच्चडबाट हो । अहिले ठाउँठाउँमा गएको पहिरो र खोलाका कारण खच्चड र भेडा पनि नआउने भएकाले खाद्यान्न संकट भएको हो ।’

स्थानीयले वर्षभरिका लागि पुग्ने गरी खाद्यान्न जम्मा गरेर राख्ने गर्छन् । सीमा प्रहरी चौकीमा हालै सरुवा भएर गएका प्रहरी सहायन निरीक्षक दीर्घबहादुर ऐरले यो ठाउँमा खाद्यान्नको चरम अभाव रहेको बताए ।

‘खाद्यान्न जम्मा गर्न पनि समस्या हुने र ठाउँसमेत नभएका कारण यहाँ कार्यरत सबै प्रहरीले खाद्यान्नको अभाव बेहोर्नुपर्ने अवस्था छ,’ उनले भने ।

हाल सीमा प्रहरी चौकी धुलीमा सहायक निरीक्षक ऐरको कमान्डमा ४ जना हबलदार, ४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १० जना कार्यरत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले खाद्यान्न अभावबारे सीमा प्रहरी चौकीमा बुझ्ने बताए । सुदूरपश्चिम प्रदेशका निमित्त कार्यालय प्रमुख एसएसपी मुकेश सिंहल रासनको सट्टा नगद नै दिने भएकाले रासनको जोहो प्रहरी आफैँले गर्नुपर्ने बताए ।

एसएसपी सिंहले यसका लागि आफ्ना तर्फबाट सहयोग गर्ने र खाद्यान्नको समस्या नै भए जिल्लाबाट पनि खाद्यान्न पठाउने वातावरण बनाउने बताए । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्