RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
५११ पटक

सत्याग्रहमै बसिरहेका वेला डा. गोविन्द केसीले नागरिकका स्वास्थ्य समस्या पनि सुन्न थालेका छन् । उनी आएर सत्याग्रहमा बसिरहेको थाहा पाएपछि स्थानीय बासिन्दा स्वास्थ्य समस्या लिएर भेट्न आइरहेका छन् ।

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका– ६ रानीचौरमा रहेको बाबिरा मस्टोको मन्दिर परिसरमा १९औँ सत्याग्रहमा बसिरहेका छन् । उनको सत्याग्रहको दोस्रो दिन मंगलबार स्थानीय बासिन्दा स्वास्थ्य समस्या लिएर उनलाई भेट्न आएका हुन् । डा. केसी गाउँमा आएर सत्याग्रहमा बसिरहेको थाहा पाएपछि स्थानीय बासिन्दा आएर स्वास्थ्य समस्या सुनाउन थालेको उनका स्थानीय सहयोगी महेन्द्र कार्कीले बताए । ‘स्थानीयको स्वास्थ्य समस्या सुनेर आवश्यक उपचार र सरसल्लाह पनि दिइरहनुभएको छ,’ कार्कीले भने ।

आफू भोकै बसिरहेका वेला पनि नागरिकको स्वास्थ्य अवस्थाबारे चासो देखाएकोमा स्थानीय बासिन्दा दंग छन् । उनीहरू डा. केसीको सत्याग्रहमा समर्थन जनाउँदै भेट्न आउन थालेका छन् । नागरिककै स्वास्थ्य सेवाका लागि आन्दोलनमा रहेको उल्लेख गर्दै डा. केसीले पनि बिरामीको सेवा गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘सत्याग्रहमा बसे पनि मेरो अन्तिम सास रहुन्जेलसम्म बिरामीको सेवा गर्न छोड्दिनँ,’ डा. केसीले भने ।

उनी दोस्रोपकट जुम्लामा सत्याग्रह बसेका हुन् । अघिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहमा बसेका थिए । त्यतिवेला आफूसँग सरकारले गरेको सम्झौता अझै पनि कार्यान्वयन नगरेकाले सत्याग्रहमा बस्नुपरेको उनले बताएका छन् । सर्वसाधारण नागरिकको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारको लुटतन्त्रविरुद्ध सत्याग्रह सुरु गर्नुपरेको उनको भनाइ छ ।

यसपटक उनले अघि सारेका मागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने उल्लेख छ । त्यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश, डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।नयाँ पत्रिका दैनिकबाट …

प्रतिकृया दिनुहोस्