RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
१११८ पटक

त्रिपुरासुन्दरी नगरपालिका– ४ को रंगगाउँ यतिखेर स्याउ पाकेर रंगिएको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बस्तीको चारैतिर लगाइएका स्याउका रूखमा हाँगै भाँचिने गरी लटरम्म स्याउ फलेका छन् । स्याउ पाकेपछि रूख नै राताम्मे भएका छन् ।

स्याउ भित्र्याउने सिजन सुरु भएसँगै बगैँचाहरूमा किसानलाई स्याउ टिप्न भ्याइनभ्याई छ ।

स्याउ टिपिसकेपछि परम्परागत तरिकाबाट स्थानीयस्तरमा बनाइएका भण्डारण गृहमा स्याउ राख्ने गरिन्छ ।

यसरी राखिएका स्याउ दुई–चार महिनासम्म मात्र सुरक्षित राख्न सकिने किसान बताउँछन् ।
गाउँमा आधुनिक भण्डारण गृह नहुँदा बर्सेनि सयौँ क्विन्टल स्याउ त्यत्तिकै कुहिएर जाने गरेको वडाध्यक्ष श्रीदल बुढाले बताए ।

स्थानीय सामग्री प्रयोग गरेर किसान आफैँले बनाइएका भण्डारण गृह त्यति भरपर्दो नहुने भएकाले बर्सेनि भण्डारण गृहभित्रै लाखौँ मूल्यको स्याउ त्यत्तिकै कुहिएर जाने गरेको उनले बताए ।

किसानको मिहिनेतलाई जोगाउन गाउँमा आधुनिक ठूलो क्षमताको भण्डारण गृह आवाश्यक रहेको उनले बताए ।

दुई सय २० घरधुरी रहेको रंग गाउँका सबैले व्यावसायिक स्याउखेती गरेका छन् । एकै घरले पचासदेखि पाँच सय बोटसम्म स्याउ रोपेका छन् ।

यहाँका किसानले परम्परागत रूपमा लगाउँदै आएको मकै, कोदो, चिनो, फापरलगायतको अनाज खेती घटाएर स्याउ खेतीमा जोड दिँदै आएका छन् ।

रंगमा मात्रै नभई सुँ, जिँउ जुफाल, डाँगीबाडा, तिप्लालगायतका विभिन्न गाउँमा स्याउको व्यावसायिक उत्पादन हुने गर्दछ । तर, सडक यातायातको पहुँच नहुँदा उत्पादन गरिएको स्याउ बिक्री नभएरै खेर जाने गरेको किसान बताउँछन् ।

जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडाकै चौगुणा मूल्य तिनुपर्ने र सडक मार्गबाट लैजाँदा आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले बाटोमै कुहिने गरेको किसान बताउँछन् ।

किसान चिन्तित
जिल्लामै प्रत्येक घरधुरीले व्यावसायिक स्याउ खेती गरेको गतिलो उदाहरण देखाउने रंग गाउँमा सबै कृषकको पिरलो भने एउटै रहेको छ ।

स्याउकोे राजधानीको रूपमा चिनिने यस गाउँमा रहेका स्याउँ बगैँचामा लटरम्म स्याउ फल्दा सबै किसान चिन्तामा दखिन्छन् ।

किसान आफैँलाई आफ्नो बारीमा लटरम्म स्याउ फलेका देख्दा रहर लाग्छ । तर, फलेको स्याउ केही बारीमै, केही घरमा कुहिने गरेपछि आफूहरूलाई ठूलो पीडा महसुस हुने किसान बताउँछन् ।

प्रत्येक वर्ष लटरम्म स्याउ फले पनि बजारसम्म लैजान यातायाताको सुविधा नहुँदा बिक्री नभएरै घरमै कुहिने गरेको किसान कमला बुढाले बताइन् ।

‘आफैँले रोपेको स्याउ फल्दा जति खुसी हुन्छौँ तर बिक्री नभएर केही बोटमै, केही घरमै कुहिँदा ठूलो पीडा महसुस हुन्छ, कुहिएर बाँकी रहेको स्याउ बिकाउन पनि इष्टमित्र पहिल्याएर सित्तैमा बाँड्नुपर्छ,’ उनले भनिन् ।

कमलाजस्तै अर्का किसान केशर बुढाको पनि बगैँचामा पनि लटरम्म स्याउ फलेका छन् । उनको बारीमा करिब एक सय बोटमा लटरम्म स्याउ फलेको उनले बताए ।

त्यत्तिकै बिरुवा एक दुई वर्षभित्रै फल दिने गरी हुर्किरहेका छन् ।

रेड डेलिसियस, गोल्डेन, चक्लेटीलगाएतका जातका स्याउ बोटमा लटरम्म फलेपछि बगैँचा नै रहरलाग्दो देखिन्छ । उनको स्याउ बगैँचा देख्दा गाउँकै मान्छेलाई पनि रहर लाग्छ, तर उनि भने चिन्तित छन् ।

‘बिक्री हुँदैन, घरगोठमै कुहिने स्याउ लटरम्म फलेको देख्दा खुसीभन्दा चिन्ता धेरै लाग्छ,’ उनले भने, ‘स्याउको बुटा रोपेर फल दिनेसम्म बनाउँदा जति दुःख हुन्छ त्योभन्दा धेरै दुख स्याउ कुहिँदा लाग्दोरहेछ ।’

आफ्नो बारीमा मात्रै प्रत्येक वर्ष पचास–साठी क्विन्टलको हाराहारीमा स्याउ उत्पादन हुने उनले बताए ।

‘यसको २० प्रतिशत पनि स्याउ बिक्री हुँदैन, यतिखेर घरमा आएका पाहुनालाई सकेसम्म स्याउ दिएर पठाउँछौँ,’ उनले भने ।

स्याउ बिक्री नभएपछि गाउँका कतिपय कृषकले अन्नबालीसँग समेत साटफेर गर्ने गर्छन् । डोल्पामा ३० रुपैयाँ किलोसम्म स्याउ आउँछ । स्याउ बगैँचामै पुग्ने हो भने अझ सस्तोमा स्याउ किन्न पाइन्छ ।

कमला र केशर जस्तै रंग गाउँका सम्पूर्ण किसानको पीडा उस्तै हो ।

व्यावसायिक रूपमा लगाइएको स्याउ प्रत्येक वर्ष कुहिँदै खेर जान थालेपछि आर्थिक उपार्जनको दिगो स्रोतको रूपमा रहेको स्याउको व्यावसायिक खेतीप्रति समेत आर्कषण घट्ने चिन्तासमेत बढेको छ ।

कोरोनाका कारण स्याउकाे बिक्री घट्यो
देशभर महामारीको रूपमा फैलिको कोरोना भाइरसका कारण डोल्पामा स्याउ बिक्री घटेको छ ।

प्रत्येक वर्ष यही समयमा रुकुम–जारकोटका सयौँ व्यापारीहरू स्याउ किन्न रंग गाउँमा आउने गरे पनि कोरोनाका कारण यस वर्ष कोही पनि नआएको किसानले बताए ।

‘यतिखेर गाउँ नै रुकुम जारकोटका मान्छेले भरिन्थ्यो, गाउँलेलाई स्याउ बेच्दै हैरान हुन्थ्यो, कोरोनाका कारण कोही पनि आएनन्,’ किसान धनमान बुढाले भने ।

दुई जिल्लाका नागरिकले मात्रै रंगको दश प्रतिशतसम्म स्याउ किन्ने गरेको र त्यसबाट प्रत्येक घरले २० हजारदेखि ५० हजारसम्म कमाउने गरेको उनले बताए ।

डोल्पा कर्णालीमै स्वादिष्ट एवं अर्गानिक स्याउ उत्पादन हुने जिल्लाको रूपमा समेत चिनिन्छ ।

चिसो र फलफूलअनुकूल हावापानी भएका कारण डोल्पामा स्याउ मात्रै नभई आरू, ओखरलगायतका फलफूल पनि प्रशस्त उत्पादन हुन्छ ।

कोल्डस्टोरमै कुहिन्छ स्याउ
परापूर्वकालदेखि प्रयोगमा ल्याइँदै आएको माटोको चिस्यान भएको जमिन खनेर बनाइएको कोल्डस्टोरका कारण पनि स्याउ छिटो कुहिने गरेको छ ।

घरमा राख्दा स्याउ चाउरी पर्ने भएकाले माटे कोल्डस्टोरमा भण्डारण गर्ने गरिन्छ ।

आधुनिक कोल्ड स्टोरको अभावमा स्याउ कुहिने थाहा पाउँदापाउँदै पनि माटे कोल्डस्टोरमा स्याउ भण्डारण गर्नुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।

किसानको मिहिनेतलाई खेर जान नदिनका लागि एउटा स्थानीय तहमा एउटासित भण्डारण गृह निर्माणका गर्नुपर्ने कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताए ।

स्याउ उत्पादन घट्यो

डोल्पामा यस वर्ष स्याउ उत्पादन घटेको किसान बताउँछन् ।

अघिल्लो वर्ष लटरम्म फलेको स्याउका बोटमा यस वर्ष धेरै स्याउ नफलेको जिँउका किसान रामबहादुर गुरुङले बताए ।

‘यस वर्ष कुनै गाउँमा राम्रो स्याउ फलेको छ, कुनै गाउँमा स्याउनै फलेको छैन,’ गुरुङले भने, ‘फूल फुल्ने समयमा आएको हावाहुरी असिनापानीका कारण यस्तो भएको हुन सक्ने अनुमान छ ।’

जिल्लाका विभिन्न गाउँबाट किसानले स्याउ उत्पादन घटेको जानकारी दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका रंग, सुँ, जिँउ, जुफाललगायतका गाउँमा यस वर्ष स्याउ कम फलेको हो ।

डोल्पामा मात्रै १४ सय ८८ हेक्टर जमिनमा स्याउ लगाइएकोमा चार सय ८६ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिने कार्यालयले जनाएको छ ।

जिल्लाभरि तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुनुपर्ने यस वर्ष घटेर चार सय मेट्रिक टन स्याउ मात्रै उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट साभार 

प्रतिकृया दिनुहोस्