RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१ गते
१०८१ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलोपटक पेरिसडाँडा कार्यालयमा बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भएको छलफलमा आगामी शुक्रबार पेरिसडाँडामा सचिवालय बैठक बस्ने सहमति भएको हो ।

तत्कालीन माओवादी केन्द्रको हेडक्वाटर पेरिसडाँडा अहिले नेकपा भ्रातृ संगठनको केन्द्रीय कार्यालय छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि पेरिसडाँडामा पार्टी सचिवालय बस्न लागेको बैठक पहिलो हो । यसअघिका बैठक प्रधानमन्त्री निवास बालुवाटार, पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच स्थायी कमिटीको निर्णयअनुसार पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।

हालै सम्पन्न स्थायी कमिटी बैठकले असोजभित्रै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ । सदस्यता नवीकरण एवं अभिलेख पूर्णरूपमा दुरुस्त बनाउँदै सदस्यताबारे रहेको अन्योल हटाउने काममा संगठन विभाग लागिसकेको छ । सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन विषयमा समेत छलफल हुने स्रोतको दावी छ ।

पार्टी एकताका बाँकी काम, सदस्यतालगायत विषयका साथै संवैधानिक निकायमा रिक्त पदाधिकारी एवं सदस्य नियुक्तिबारे पनि छलफल भएको बताइएको छ । नियुक्ति विषयमा थप छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवास“ग बिहीबार छलफल हुने नेकपा उपनेता नम्वाङले जानकारी दिए ।

उनका अनुसार कांग्रेस सभापति देउवास“ग छलफलपश्चात अख्तियार, निर्वाचन आयोगलगायतका निकायमा रिक्त पदाधिकारी एवं सदस्यमा सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउने छ । संवैधानिक निकायका साथै केही विश्वविद्यालयमा समेत रिक्त उपकुलपति, पदाधिकारी नियुक्ति विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा स्थायी कमिटीको गत २६ भदौमा सम्पन्न बैठकको निर्णयअनुसार ओली र दाहालले आ–आफ्नो जिम्मेवारीअनुसार कामलाई तीव्रता दिइरहेका छन् । सरकारको काममा ओली र पार्टी काममा दाहालले जिम्मेवारी पाएपछि त्यसअनुसार अघि बढिरहेका हुन् ।

दुबै अध्यक्षको हस्ताक्षरसहितको अन्तरपार्टी निर्देशन–५ जारी भइसकेको छ । लामो समयसम्म स्थायी कमिटीमा छलफलपश्चात भएका निर्णय कार्यान्वयन गर्न पार्टीका सबै कमिटीलाई निर्देशनमा भनिएको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्