RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१ गते
११६७ पटक

सरकारले आन्तरिक उडानमा आधामात्र यात्रु राख्न पाउने प्रावधान लागू गरेपछि वायुसेवा सञ्चालकहरूले असहमति जनाएका छन् । निजी वायुसेवा सञ्चालक संघले कुल सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राखेर आन्तरिक उडान गर्न नसकिने जनाएको छ ।

सरकारले भनेको सिट क्षमताको ५० प्रतिशत यात्रु बोकेर विमानको सञ्चालन खर्च धान्न नसक्ने भन्दै तत्काल विमान उडान नगर्ने निर्णय गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार सरोकारवाला निकायबीचको छलफलमा यथास्थितीमा उडान भर्न नसकिने प्रष्ट पारेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनले भने, “तत्काललाई सरकारले तोकेको समयमा हामीले हेलिकप्टरमात्र उडान भर्ने निर्णय गरेका छौं, अन्य विमान भने सरकारले अर्का व्यवस्था नगरेसम्म उडान भर्ने छैनौं ।”

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ गतेबाट आन्तरिक हवाई सेवा खुला गरेको बताएको भएपनि विभागीय मन्त्रालयले वायुयान कम्पनीलाई भने असोज ५ गतेदेखि उडान गर्नको लागि समन्वय गर्न निर्देशन दिएको थियो । सरकारले भर्खरै जारी गरेका निर्देशन र निर्देशिका जानकारी वायु सेवा सञ्चालकहरूलाई जानकारी गराएको तर औपचारीक रुपमा उडान नभर्ने भनेर जानकारी नआएको मन्त्रालयले जनाएको छ ।

सचिव केदारबहादुर अधिकारीले भने, “हामीलाई अनौपचारिक जानकारीमात्र आएको छ, औपचारिक जानकारी आएपछि प्रधानमन्त्री कार्यालयमा जानकारी गराएर आवश्यक निर्णय गर्छौं ।” संघले भने यसमा सहजीकरण गर्न औपचारिक रुपमै मन्त्रालयलाई अवगत गराएको दावी गरेको छ ।

संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरण बाट भएका निर्देशनको पूर्ण परिपालना गरी नियमित उडान संचालन गर्न वायुसेवा तयार रहे पनि ५० प्रतिशत यात्रु मात्र लिएर उड्नु पर्ने व्यवस्थाप्रति सबै वायुसेवा सञ्चालकहरूको असहमति रहेकोले तत्काल उडान सञ्चालन गर्न असमर्थ रहेको उल्लेख छ ।

अन्य देशमा ५० प्रतिशत यात्रु मात्र लिएर उडान गर्ने अभ्यास नरहेको र ५० प्रतिशत मात्र यात्रु लिएर उडान भर्दा यात्रुले टिकट मूल्य धान्न नसक्ने भएकाले तत्काल उडान सञ्चालन गर्नुको अर्थ नरहेको संघले उल्लेख गरेको छ । उडान समय छोटो हुने र कोरोना भाइरस नियन्त्रण तथा रोकथामको सबै मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले हवाई उडानमा संक्रमण फैलिने सम्भावना न्यून रहेको भन्दै हालको निर्णय पुनर्विचार गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

६ महिनादेखि हवाई सेवा बन्द हुँदा हवाई सेवा धरासाही भएको उल्लेख गर्दा सरकारले तत्काल लागु गरेको ५० प्रतिशत सिट संख्या तत्काल खारेज गरि यात्रुको यात्रामा सहजिकरण गर्दै पूर्ण यात्रु लिएर उडान भर्ने वातावरण बनाउन सरकारसँग संघले माग गरेको छ ।
सरकारले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर उडान भर्नु पर्ने जारी मापदण्डमा उल्लेख छ ।

भौतिक दूरी कायम गरेर सिट लहरमा एक जनामात्र यात्रु राख्न् पाईने, यात्रुले माक्स अनिवार्य लगाउनु पर्ने, विमान चड्दा र ओर्लदो ढोकामा सेनिटाइजर राख्नु पर्ने, विमान चालक चालक दलका अन्य सदस्यहरूले माक्स, भाइजर, पन्जा अनिवार्य लगाउनु पर्ने मापदण्डमा उल्लेख छ । विमानलाई दैनिक निसंक्रमित गर्नुपर्ने र यात्रुको सम्पूर्ण यात्रा विवरण राख्नुपर्ने नियम बनाएको सरकारले भाडा दर कसरी व्यवस्थापन गर्ने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अधिकार दिएको छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्