RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२ गते
४९७ पटक

सरकारले तत्काल सीमित संख्यामा मात्र आन्तरिक उडान गर्ने तयारी गरेको छ । लकडाउनअघि भएको कुल उडानको २५ प्रतिशतमात्र उडान गर्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, “हाललाई २५ प्रतिशत उडान गर्ने गरी तयारी भएको छ । सोहीअनुसार नेपाल नागरिक उड्यडन प्राधिकरणले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।” सरकारले नियमित आन्तरिक उडान सुरुवात गर्ने निर्णय गर्दै केकति मात्रामा र कुन क्षेत्रमा उडान गर्ने भन्ने व्यवस्थापन र सहजीकरणका लागि विभागीय मन्त्रालयलाई जिम्मा दिएको छ ।

मन्त्रालयको निर्देशनअनुसार सुरुमा २५ प्रतिशतमात्र आन्तरिक उडान अनुमति दिने तयारी भइरहेको र क्रमिक रुपमा बढाउँदै जाने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । चाडबाडलाई लक्षित गरेर हवाई यात्रा सहजीकरण गर्नुपर्ने सरकारको दायित्व रहेकाले पनि सम्भव भएसम्म सबै गन्तव्यमा उडान गर्ने प्राधिकरणको तयारी छ ।

सरकारले तोकेका र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्धारण गरेका सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर सबै गन्तव्यमा उडान भर्ने गरी प्राधिकरणले तयारी पूरा गरेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय र सीमित आन्तरिक रुपमा हेलिकप्टरले उडान गरिरहेका छन् । महानिर्देशक पोखरेलले भने, “प्राधिकरणले आन्तरिक उडानको विषयमा एकखालको आन्तरिक तयारी पूरा गरिसकेको छ ।

विमान कम्पनीहरुसँगको छलफलले मूर्त रुप लिएपछि उडान तालिका स्वीकृत हुन्छ ।”सरकारले असोज १ बाट सिट क्षमताको ५० प्रतिशतमा उडान गर्ने गरी निर्णय गरेको भए पनि मन्त्रालयले भने असोज ५ बाट सबै तयारी पूरा गरेर आन्तरिक उडान खुला गर्ने तयारी अघि बढाएको छ ।

बुधबार निजी हवाई सेवा प्रदायकहरुको संस्थाले ५० प्रतिशतमात्र यात्रु राखेर मात्र उडान भर्न नसकिने बताएको थियो । उनीहरुसँग बिहीबार प्राधिकरणले छलफल गरे पनि टुंगो लागिसकेको छैन । सरकारले तत्काल कोभिड–१९ संक्रमण कम भएका र पीसीआर चेक जाँच गर्ने मुलुकबाट मात्र नेपालमा उडान गर्न दिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाभरि ८ मुलुकका २ नेपाली विमान कम्पनीसहित १० विदेशी विमान कम्पनीलाई नेपालमा उडान गर्ने अनुमति प्रदान गरेको छ । लकडाउनअघि आन्तरिकमा करिब ३ सय र अन्तर्राष्ट्रिय १ सय उडान हुन गरेका थिए । आन्तरिकमा करिब ३० गन्तव्यमा उडान हुने गरेको थियो ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्