RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
१००४ पटक

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे । सुरुमा उनी रहरै रहरमा प्रत्येक शनिबार छिमेकीको भेडा चराउँथे । पाँच कक्षामा पढ्दै गरेका उनलाई भेडा पाल्न औधी मन लाग्यो । बिस्तारै उनलाई विद्यालयभन्दा भेडीगोठ प्यारो लाग्न थाल्यो । १३ वर्षदेखि भेडा पालन सुरु गरेका उनी अहिले १९ वर्षका भए । कुँवरले ६ वटा भेडाबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनको गोठमा ७० वटा भेडा छन् ।

कुँवर जस्तै यहाँका धेरै बालबालिका बाध्यताले पढाइ छाडेर गोठाला बन्छन् । कुँवरले अहिले पाँच जनाको समूहमा आफ्ना भेडाको रेखदेख गरिरहेका छन् ।

‘बगालमा अहिले १ हजार भेडा छन्, मिलेर रेखदेख गरिरहेका छौं,’ उनले भने, ‘रहरले रोजिएको पेसा अहिले आम्दानीको स्रोत बनेको छ, पढेर पनि हामी जस्ता किसानका छोराले जागरी पाउनै गाह्रो छ ।’

यस्तै, तातोपानी–७ ताम्तीगाउँका हरिदत्त रावतले पनि ९ कक्षामा पढ्दै गर्दा भेडा हेर्नुपर्ने भयो । भेडापाल उनको पुख्र्यौली पेसा हो । बुबाले एक्लैले भेडापालन गर्न नसक्ने भएपछि उनले पढाइ छाड्नुप¥यो । प्रकाश र हरिदत्त त प्रतिनिधि पात्र हुन् । ग्रामीण भेगमा बढी भेडा पालन हुने हुँदा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचबाहिर छन् ।

पाटनमै भेडाबाख्रा चराउने गोठालाहरु हिउँदमा बेंसीका फाँट र गर्मीमा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपातमा पनिउनीहरु भेडीगोठमा दिन काटिरहेका हुन्छन् । गाडखर्क, भुइसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुइसिले लेकसम्म भेडाबाख्रा चराउन पुग्छन् । उनीहरुको जीवनशैली अरु व्यक्तिको भन्दा भिन्न छ । घुमन्ते जीवन बिताउने भेडीगोठालाहरु चरन क्षेत्रमा घाँस सकिएपछि गोठ सार्छन ।

भोजपत्र, त्रिपाल र ढुंगाले छाएको गोठ बनाएर बस्छन् । उनीहरुलाई घरबाट आफन्तले एक–दुई महिना पुग्ने खाद्यान्न पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिँडो र जंगलमा पाइने च्याउ, निगालाकाटुसा र निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडीपाखी ओढ्ने–ओछ्याउने गर्छन्, जुन महँगोमा बिक्री हुन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । राडीपाखीले जमिनको पानी जिउमा पर्न दिँदैन । जसबाट रागन र नसासम्बन्धी रोग लाग्नबाट बचाउँछ। हिमपात भएको बेला न्यानो बनाउन ठूला मुढा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नुपर्ने भएकाले गोठ व्यवस्थित हुँदैन ।

चट्याङले भेडीगोठालाको उठीबास
भेडीगोठालालाई वर्षा याममा चट्याङको ठूलो डर हुन्छ । यसले कतिपय गोठालाको उठीबास भएको छ भने कतिको त ज्यानैै लिएको छ । चट्याङकै कारण यो वर्ष तातोपानी–७ का भेडीगोठाला प्रकाश कुँवरले एक जना साथी गुमाउनुप¥यो । गत ३० असारमा भेडीगोठबाट भेडा चराउन हिँडेका तिला गाउँपालिका–५ चुलाकोटका कलिमुन बढाको चट्याङ लागेर मृत्यु भएको उनले बताए ।

सात जना गोठालाको नेतृत्व गर्ने तथा सबैलाई अह्राइसिकाइ गर्ने अविभावक गुमाएपछि अहिले गोठमा सबैले टुहुरो भएको महसुस गरेका छन् । यस्तै, तातोपानी गाउँपालिका–७ शर्मीका भैर कुँवर चट्याङकै कारण भेडापालनबाट विस्थापित भएको बताउँछन् । चट्याङले दुई दशकअघि उनको भेडाको बथान मारेको थियो । अहिले उनी भेडा पालन त्यागेर कृषिकर्ममा लागेका छन् । हरेक वर्ष चट्याङका कारण यहाँका भेडीगोठालाले ठूलो क्षति बेहोनुपरेको छ ।

गोठालालाई कोरोनाको पीर छैन
भेडीगोठालालाई कोरोना भाइरस (कोभिड–१९) को कुनै डर छैन । गाउँसहरबाट टाढाको दैनिकी र जंगलमा फिरन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका गोठालाहरुको दैनिकीलाई कोरोनाले कुनै असर गरेको छैन । अरूसँग सम्पर्क नहुने हुँदा कोरोना लाग्ने पीर नभएको तातोपानी गाउँपालिका–७ ताम्तीका भेडीगोठाला लालसिंह रावतले बताए ।

‘रेडियोबाट कहिले व्यापार भएन, कहिले काम गर्न पाएनांै भन्ने समाचार सुन्छौं, हामीलाई त आनन्द छ, हामी गोठालाबाहेक कसैसँग भेटघाट हुँदैन,’ उनले भने ।

वर्षमा कम्तीमा पनि ३ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । भेडीगोठमै सिंगो जीवन कटाएका उनीसँग अहिले २ सय वटा भेडा छन् । उनले वर्षमा ३० वटासम्म भेडा बेच्ने गरेको बताए ।

भेडीगोठका इमानदार सिपाही
हजारौं भेडाको बथान । पाटन र जंगलको बास । चिसो छल्न बेसी झर्दा होस् या गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने र जंगली जनावरको आक्रमणमा पर्ने डर भेडापालकलाई हुने गर्दछ । तर जुम्लाका भेडापालक किसानलाई भने डर छैन । कारण, उनीहरुलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ । चिसो ठाउँ र भोटमा पाइने हुँदा भोटे कुकुर भनिएको हो । भेडीगोठको इमानदार सिपाहीका रूपमा किसानहरुले भोटे कुकुरलाई साथमै राख्ने गरेका छन् । भेडालाई विभिन्न जंगली जनावर तथा अन्य आक्रमणबाट जोगाउन गोठैपिच्छे भोटे कुकुर पाल्ने गरिएको छ । राजधानी दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्