RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
७९५ पटक

पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७७÷०७८ को भदौ मसान्तरसम्म ६४ करोड ६४ लाख राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा कार्यालयले ८८ करोड ३ लाखको लक्ष्य पाएकोमा कोभिड–१९ का कारण लक्ष्य भन्दा केही कम राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।
कोभिड–१९ ले गर्दा भदांमा १० दिन कास्कीमा निषेधाज्ञा, विभिन्न वडा तथा टोलमा सिल भएकाले करदाताले समयमै राजस्व बुझाउन नसक्दा लक्ष्य भन्दा करिब
२६.५६ प्रतिशत अर्थात २३ करोड ३९ लाख राजस्व संकलन गर्न नसकिएको उनले जनाए । कार्यालयले चालु आर्थिक वर्षको साउनमा ६५ करोडको लक्ष्य मध्ये ४५
करोड राजस्व संकलन भएको छ भने भदौमा २२ करोडको लक्ष्य मध्ये १८ करोड मात्र राजस्व संकलन भएको लामिछानेले बताए । कार्यालयलाई चालु आर्थिक वर्षमा ४ अर्ब ८२ करोड लक्ष्य निर्धारण गरिएको छ ।
चालु आवको भदौसम्म उक्त कार्यालयबाट ९२ हजार ७ सय ८७ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । १ लाख ५२ हजार १ सय ११ जना करदाता रहेकोमा
व्यवसायी स्थायी लेखा नम्बर लिनेको संख्या भने ५९ हजार २ सय ९९ जना रहेको छ । भ्याटमा ११ हजार ८ सय ३ वटा संस्था रहेका छन् । भदौसम्म अन्तशुल्क इजाजत लिनेको संख्या भने ५ हजार ५२ जना रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्दै करदातालाई घर घरबाटै करको विवरणसहितको कर भुक्तानी अनलाइनबाटै गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी लामिछानेले बताए ।

सेवाग्राहीलाई छिटो छरितो ढंगबाट सेवा दिने उद्देश्यले एउटै बैंक भौचरबाट सबै विवरण पेश गर्न सकिने उनले जनाए ।
आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०७६÷०७७ मा ४ अर्ब ३ करोड ११ लाख २३ हजार राजस्व संकलन गर्न सफल भएको थियो । ५ अर्ब ६१ करोड ६७ लाख ५२ हजारको लक्ष्य रहेकोमा कार्यालयले ७१.७७ प्रतिशत मात्र लक्ष्य पूरा गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्