RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
५७६ पटक

काठमाडौ,  बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले मनसुन सकिन अझै केही दिन लाग्ने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार गएको बिहिबार नेपालको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ । तर बंगालको खाडीमा रहेको न्यून चापिय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने भएको उहाँले जानकारी दिनुभयो ।

पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भएपनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको थियो ।

बंगालको खाडीमा रहेको प्रणालीकै प्रभावले अहिले पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भएको मौसमविद्को भनाई छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।

प्रतिकृया दिनुहोस्