RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१९ गते
७५७ पटक

रुपन्देही । बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका विभिन्न संघ–संस्थाहरुले सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका छन् । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार बिहान ९ बजेदेखि लुम्बिनी अञ्चल बन्दको आह्वान गरेका हुन् ।

सञ्जालले सोमबार बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् । विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा वली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको संयोजक हमालले बताए ।

यसैबीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी गत शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाईएको छ । सरकारले यस क्षेत्रका मुख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा व्यवस्था कडा वनाएको छ ।

प्रतिकृया दिनुहोस्