RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
५०४ पटक

काठमाडौँ, असोज २० गते । चीनसँग नेपाल जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएसँगै व्यापारिक सामान एकतर्फी रूपमा आउन थालेका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले आइतबार रातिबाटै तातोपानी नाका पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबार राति ११ बजेबाट नाका सञ्चालनमा आई निर्बाध रूपमा नेपालतर्फ सामान आउन सुरु भइसकेको छ ।” उहाँका अनुसार आइतबार राति ११ ट्रक समान नेपाल आएको हो ।
उहाँले भन्नुभयो, “चीन तर्फबाट आएका समानहरू ट्रकबाट उतारी भन्सारको यार्डमा राखिन्छ र त्यहाँ निर्मलीकरण (डिसइन्फेक्सन) गरी सामानलाई भन्सारमा जाँचपास गरी नेपाल ल्याउने गरिएको छ ।’’
तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालनमा ल्याउने गरी नेपाली र चिनियाँ पक्षबीच असोज १३ गते सहमति भएको थियो ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सामाजिक सञ्जालमा चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका सञ्चालनमा आएको बताउनुभएको छ । उहाँले अबदेखि तातोपानी र रसुवा दुवै नाकाबाट नेपालमा दैनिक आवश्यक सामग्री आपूर्ति गर्न सहज हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्