RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
७७० पटक

बुटवल — प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताए । ‘आज मतदान प्रक्रियाबाट स्थायी राजधानी र नामको टुंगो लाग्छ,’ उनले भने, ‘प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त हुन्छ ।’ मंगलबारको बैठकमा अन्य थप कुनै कार्यसूची नहुने उनले बताए ।

कांग्रेस अन्योलमा

राजधानी दाड. बनाउन लागिएको विरोधमा सोमबार तोडफोडसहित प्रदेश सभामा प्रदर्शन गरेको प्रमुख प्रतिपक्ष दल कांग्रेस मंगलबार के गर्ने भन्नेबारेमा अन्योलमा छ । आक्रोशको सट्टा आन्तरिक छलफलमा जुटेर सदनमा कसरी सभ्य रुपमा विरोधमा प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउँदै गरेको सचेतक निर्मला क्षेत्रीले बताइन् । यसबारेमा यस क्षेत्रका केन्द्रीय नेताहरुसँग समेत छलफल भइरहेको छ ।

कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले सरकारको प्रस्तावको विपक्षमा मत हाल्ने तर कसरी विरोध गर्ने भन्नेबारे ११ बजे पछि संसदीय दलको कार्यालयमा जुटेर छलफल गर्ने बताए । ‘हिजो सत्तापक्षले हामीलाई आक्रोशित बनायो,’ उनले भने, ‘अबका विरोध संयमतापूर्ण हुनेछन् ।’

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

त्यस्तै कांग्रेसका १९ सदस्यमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् । यद्यपि नेकपा बाहेक कुनै पार्टीको पनि अहिलेसम्म संसदीय दलबाट निर्णय गराएको छैन । त्यस्तै एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन ।

यसैबीच केही बेरअघिदेखि बुटवलमा प्रदेश ५ को मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकले सोमबार नेकपा संसदीय दलले पारित गरेको रुपन्देहीलाई वित्तीय र पर्यटकीय राजधानी बनाउने प्रस्ताव पारित गर्ने बताइएको छ। कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्