RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
५३८ पटक

काठमाडौं । निकै लामो समयको अन्तरालपछि प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी (भालुवाङ) मा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएसँगै प्रदेशको नाम र राजधानीको विषय टुंगो लागेको हो । मंगलबार प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

यस्तै स्थायी राजधानी दाङको देउखुरी (भालुवाङ) राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८३ सांसद उपस्थित रहे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।

सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।

प्रदेशसभामा नेकपाका ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

प्रतिकृया दिनुहोस्