RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
४४८ पटक

काठमाडौं, असोज २० गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । आजको बैठकले पुरानै कार्यसूचीमा छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको जिम्मेवारीअनुसार ठोस प्रस्ताव बैठकमा आइनसकेकाले छलफल पुरानै कार्यसूचीमा भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि, असोज ६ गतेको सचिवालय बैठकले १० दिनको समय दिएर पार्टीको सांगठनिक एकीकरणको टुङ्गो लगाउने आधारसहितको खाका तयार गर्न भनेको थियो ।

त्यस्तै, मन्त्रिपरिषद पुनर्गठनको विषयमा दुई अध्यक्षले सहमति गरी स्पष्ट आधार बनाउने जिम्मेवारी बैठकले दिएको थियो । तर सोबारे अझैसम्म दुई अध्यक्षबीच सहमतिको स्पष्ट आधार बनिनसकेको र गृहकार्यकै चरणमा रहेको जानकारी बैठकलाई भएपछि पुरानै कार्यसूचीमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

“मन्त्रिपरिषद पुनर्गठनबारेको कुनै प्रस्ताव बैठकमा आएन, यसबारे प्रधानमन्त्रीले कुनै जानकारी गराउनु भएन” प्रवक्ता श्रेष्ठले भन्नुभयो । अध्यक्षद्वयले सचिवालयको अर्को बैठकमा प्रस्ताव ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । यसअघिको कार्यसूची संवैधानिक निकायमा पदपूर्ति गर्ने विषयमा सहमति गरी चाँडै टुङ्गो लगाउन बैठकले दुवै अध्यक्षलाई पुनः सुझाव दिएको छ ।

सोहीअनुसार प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको अनसन र माग बारेमा बैठकलाई जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले डा. केसीका अधिकांश माग पूरा गरिसकेको र केही माग पूरा हुने चरणमा रहेका छन् । यस्तो बेलामा अनसन बस्नु उपयुक्त नरहेकाले अनसन अन्त्य गर्न नेकपा बैठकले डा. केसीसँग माग गरेको छ ।

त्यस्तै, देश कोरोना माहामारीबाट ग्रस्त भएकाले त्यसको रोकथाम, नियन्त्रण तथा जनताको सुविधाका लागि आवश्यक पहल सरकारले लिनुपर्ने र त्यसमा केन्द्रित भएर काम गर्न सचिवालय बैठकले प्रधानमन्त्री तथा सरकारलाई सुझाव दिएको छ । दुई अध्यक्षले सहमतिको प्रस्ताव तयार गर्नुभएपछि सचिवालयको अर्को बैठक तय हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्